लुम्बिनीको सामर्थ्य कायम राख्न भैरहवा विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न सरोकारवालाको माग

लगानीको वातावरण बनाउन सरकार लागि परेको अर्थमन्त्री पौडेलको दाबी
चैत्र १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
लुम्बिनीको सामर्थ्य कायम राख्न भैरहवा विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न सरोकारवालाको माग

रूपन्देही । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै पूर्ण क्षमतामा सञ्चालन हुने बताउनुभएको छ । कान्तिपुर मिडिया ग्रुपद्वारा आज भैरहवामा आयोजित 'लुम्बिनीको सामर्थ्य' विषयक अन्तक्रिया कार्यक्रममा मुख्य वक्ताका रूपमा बोल्दै मन्त्री पौडेलले निकट भविष्यमै विमानस्थल पूर्णरूपमा सञ्चालन गर्नका लागि महत्त्वपूर्ण निर्णय भएको जानकारी दिनुभयो । 

गौतमबुद्ध विमानस्थलबाट पूर्णरूपमा अन्तर्राष्ट्रिय उडानका लागि अन्तर्राष्ट्रिय एअरलाइन्सहरूलाई विशेष छुट सुविधाको प्याकेज ल्याउने उल्लेख गर्दै उहाँले त्यसका लागि अन्तर्राष्ट्रिय विमानस्थल कम्पनीहरूसँग छलफल भएको बताउनुभयो ।

मन्त्री पौडेलले निजी क्षेत्रको मनोबल उकास्न सरकारले कुनै कसर बाँकी नराखेको उल्लेख गर्दै त्यसका लागि २९ वटा कानुन संशोधन गरेको जानकारी दिनुभयो । उहाँले लुम्बिनीमा लगानी गर्न देशका लगानी गर्न पनि आह्वान गर्नुभयो ।

कार्यक्रममा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले लुम्बिनी प्रदेशका नागरिकको जनजीविकामा बदलाव ल्याउने सपना बोकेको यो विमानस्थल तत्काल सञ्चालन गर्नुको अर्को विकल्प नरहेको बताउनुभयो । उहाँले नेपाल सरकारले छिमेकी मुलुक भारतसँग उचित रूपमा कूटनीतिक पहल गरी यस अन्तर्राष्ट्रिय विमानस्थलको हवाई रूटको बन्द बाटो खुला गर्ने वातावरण बनाइदिन सरकारसँग आग्रह समेत गर्नुभयो ।

अध्यक्ष सिरोहियाले तीव्र गतिमा विकास भइरहेको लुम्बिनी प्रदेशलाई केन्द्रीय सरकारका अन्तर सम्बन्धित निकायहरूको सहयोग र प्रदेशमा समेत राजनीतिक स्थिरता भए मुलुकको अर्थतन्त्रमा थप योगदान गर्न सक्ने बताउनुभयो ।

अन्तर्क्रियामा 'सुस्त पूर्वाधार र अस्थिर नीति, उत्पादनका चुनौती,' 'उपमहानगरको उन्नति,' 'लुम्बिनीको आह्वान : अन्तर्राष्ट्रिय उडान' र 'अलमलमा अर्थनीति र राजनीति' गरी चार सत्रमा बहस भए ।

यस्तै कार्यक्रममा गृहमन्त्री रमेश लेखकले संविधानमा व्यवस्था भएको राजनीतिक संस्थाको सफल कार्यान्वयन भए पनि आर्थिक समृद्धिसँग जोडिएका विषय कार्यान्वयन हुन समय लागेको बताउनुभयो । चौथो सत्र अलमलमा अर्थनीति र राजनीति बहसमा मन्त्री लेखकले आर्थिक समृद्धिसँग जोडिएका विषय कार्यान्वयन हुन ढिलाइ भए पनि अब ढिला नगरी बढनुपर्ने बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनताको आशा, भरोसा र विकासका निम्ति नै प्रदेश सरकार बनेको जिकिर गर्दै वडा तथा गाउँसम्मै प्रदेशका आयोजना सञ्चालन भइरहेको बताउनुभयो । तर राजनीतिक अस्थिरताका कारण चालु आर्थिक वर्षमा केही उपलब्धी हासिल हुन नसकेको उहाँको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले अस्थिर नीति र खुम्चँदो बजारमा व्यवसायीले लगानी विस्तार गर्न नसकेको बताउनुभयो । एउटा नीति कम्पनीमा १५ देखि २० वर्ष स्थिर हुनुपर्नेमा त्यसो हुन नसकेको उल्लेख गर्दै उहाँले ल्याइएका नीति पनि कार्यान्वयन तहमा कमजोर रहेको औंल्याउनुभयो ।

'लुम्बिनीको आह्वान : अन्तर्राष्ट्रिय उडान' विषयको तेस्रो सत्रमा लुम्बिनी बौद्ध विश्वविद्यालयकी सहप्राध्यापक शारदा पौडेलले लुम्बिनीको दिगो विकासका लागि पर्यटन पूर्वाधारका साथै बौद्ध अध्ययन, बौद्ध दर्शन, कला र साहित्यमा अनुसन्धान, अध्ययन आवश्यक रहेको बताउनुभयो ।

लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नीति निर्मातामा काम गर्ने इच्छाशक्ति नहुँदा गौतमबुद्ध विमानस्थल पूर्णरूपमा सञ्चालन हुन नसकेको बताउनुभयो । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देक प्रदीप अधिकारीले भने लुम्बिनीको प्रचारप्रसार गरेर उडानलाई नियमन गर्न सके विमानस्थल चल्न सक्ने बताउनुभयो । 

दोस्रो सत्र 'उपमहानगरको उन्नति' मा लुम्बिनीका स्थानीय तहका जनप्रतिनिधिहरूले आ-आफ्ना स्थानीय तहका अनुभव बाँडेका थिए । कार्यक्रमको पहिलो सत्र 'सुस्त पूर्वाधार र अस्थिर नीति, उत्पादनका चुनौती' का सहभागी उद्योगी तथा सरकारी अधिकारीहरूले गौतमबुद्ध विमानस्थल सञ्चालनको प्रभावकारिता सुनिश्चित गर्न बहुआयामिक रणनीति अवलम्बन गर्नुपर्ने बताएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.