काठमाडौं । काठमाडौं उपत्यकामा परम्परागत घोडेजात्रा आज मनाइएको छ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन यो जात्रा मनाउने गरिन्छ । नेपाली सेनाले पनि टुँडिखेलमा अश्वकलाको प्रदर्शन गर्दै घोडेजात्रा पर्व मनाएको छ ।
नेपाली सेनाका घोडचढीहरूले काठमाडौंको टुँडिखेलमा अश्वकला लगायतका विभिन्न कलाकौशल प्रदर्शन गरे । त्यसक्रममा घोडा जम्पदेखि युद्धकलाका साथै घरपालुवा जनावर, सामान ओसारपसार, कृषि, सिकार, यातायात, खेलकुद लगायतमा घोडाको प्रयोग सम्बन्धी कलाकौशल प्रस्तुत गरेर घोडेजात्रा पर्व मनाइयो ।
कार्यक्रममा कुकुरहरूको विभिन्न कला समेत प्रदर्शनी गरिएको थियो ।
घोडेजात्रा अवलोकन गर्न राष्ट्रपति रामचन्द्र पौडल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरेसहित मन्त्रीहरू पुग्नुभएको थियो । यसैगरी संवैधानिक निकायका प्रमुखहरू, विभिन्न कूटनीतिक निकायका प्रतिनिधिहरू पनि टुँडिखेल पुगेर घोडेजात्राको अवलोकन गर्नुभयो ।
जनविश्वास अनुसार प्राचीन कालमा गुरुमापा नामको राक्षसले शहरका बालबालिका खाने गरेको र त्यसबाट आतंकित भएका शहरवासीले उक्त राक्षसको बध गरे पनि त्यसको आत्मा टुँडिखेलको एउटा कुनाको रुखमुनि रहने किंवदन्ती छ । त्यही राक्षसको आत्मालाई घोडाको टापबाट दबाउन घोडा दौडाएर जात्रा मनाउने गरिएको बताइन्छ ।
हिन्दू पौराणिक कथाहरूमा समेत सेनाले घोडाको प्रयोग गरेको प्रसंग छ । जात्राको अवसरमा काठमाडौं उपत्यकाका नेवार समुदायले आफन्त बोलाएर उत्सव मनाउने परम्परा रहँदै आएको छ । ललितपुरको पाटन बालकुमारीमा पनि एक्लो घोडा दौडाएर घोडे जात्रा मनाइएको छ ।