अस्ट्रेलिया । नेपाली भाषा कला, संस्कृति जगेर्ना तथा प्रचारप्रसार गर्ने उद्देश्यले अस्ट्रेलियाको तासमानिया राज्यमा नेपाल फेस्टिभलको आयोजना गरिएको छ । गैर आवासीय नेपाली संघ अस्ट्रेलिया तासमानियाले आयोजना गरेको फेस्टिभल सांस्कृतिक परेडबाट सुरु भएको थियो ।
फेस्टिभलमा सहभागिताका लागि तासमानियाको लन्सेस्टन, डेबोनपोर्ट तथा बर्नीबाट नेपालीहरू होबार्ट पुगेका थिए । फेस्टिभलको प्रमुख आकर्षण नेपाली परिकार थियो ।
फेस्टिभलमा तासमानिया राज्यका मन्त्री तथा सांसदहरूको समेत उपस्थिति थियो । फेस्टिभललाई तासमानिया राज्यका प्रिमियर जेरिमी रकलिफले भिडिओ सन्देशमार्फत शुभकामना दिंदै तासमिनयामा नेपालीहरूको जनसंख्या तेस्रो ठूलो भएको भन्दै खुशी व्यक्त गर्नुभयो । यस्तै वातावरणमन्त्री मेडलिन वग्लीबले नेपाली कला संस्कृतिको प्रशंसा गर्नुभयो । फेस्टिभलमा अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले नेपाल र अस्ट्रेलियाबीचको सम्बन्ध पुरानो भएको भन्दै अझै मजबुत बनाउनुपर्ने बताउनुभयो ।
संसद् भवन अगाडि भएको फेस्टिभलमा समीक्षा अधिकारी तथा चर्चित स्थानीय ब्यान्डले सांस्कृतिक प्रस्तुति दिएका थिए । फेस्टिभलमा करिब ७ हजार जनाको सहभागिता रहेको गैर आवासीय नेपाली संघ तासमानियाले जनाएको छ ।