काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौं महानगरपालिकाले जरिवाना पत्र काटेको छ । शुक्रबार तीनकुने क्षेत्रमा भएको प्रदर्शनमा फोहोर गरेको, दमकल तोडफोड गरेको लगायतका शीर्षकमा महानगरले पूर्वराजा शाहलाई जरिवाना तिराउने निर्णय गरेको हो ।
पूर्वराजा शाहलाई सिनामंगल, कोटेश्वर, बालकुमारी, जडिबुटी, तीनकुने र महादेवस्थान क्षेत्रमा फोहोर गरेकामा एक-एक लाख गरी ६ लाख जरिवाना गरिएको हो ।
यसैगरी दमकल तथा अग्नि नियन्त्रकहरूलाई ढुंगामुढा गरी दमकल फुटाएकामा एक लाख ३० हजार जरिवाना गरिएको छ । साथै, तीनकुनेमा रुख, बिरुवा र रेलिङ तोडफोड गरेकामा ४० हजार र तीनकुनेको ट्राफिक आइल्यान्ड तोडफोड गरेकामा २३ हजार जरिवाना गरिएको छ ।
विभिन्न आठ शीर्षकमा काटिएको पत्रमा पूर्वराजा शाहलाई कुल ७ लाख ९३ हजार रुपैयाँ जरिवाना दाखिला गर्न भनिएको छ ।
“समाजवादी मोर्चाले कार्यक्रमपछि आफैं सफा गर्छौं भनेर पत्र पठाउनुभएको थियो र उहाँहरूले सरसफाइ पनि गर्नुभयो । तर राजसंस्था समर्थकले गरेको कार्यक्रममा सार्वजनिक सम्पत्ति तोडफोड र वातावरण प्रदूषण गरेको पाइएकाले हामीले जरिवाना पत्र काटेका हौं । आइतबार कार्यालय समयमा पत्र निर्मल निवास पठाउँछौं”, महानगरका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले बताउनुभयो ।
पूर्वराजा शाहले नै आह्वान गरेको कार्यक्रम भएकाले निर्मल निवासमा पत्र काटिएको पनि बजगाईंले बताउनुभयो ।