काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा ‘ह्यासट्याग अरेस्ट ज्ञानेन्द्र’ अभियान चलेको छ । शुक्रबार काठमाडौंको तीनकुनेमा राजसंस्था पक्षधरको प्रदर्शनमा भएको हिंसात्मक गतिविधि, अराजक क्रियाकलाप र लुटपाटमा ज्ञानेन्द्र शाहलाई दोषी ठहर्याएर कारबाहीको दायरामा ल्याउन सामाजिक सञ्जालमा माग उठेको हो ।
शुक्रबार भएको प्रदर्शनका क्रममा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक तथा कीर्तिपुरका स्थानीय सविन महर्जनको ज्यान गएको थियो भने थुप्रै घाइते भएका थिए । यस्तै, भाटभटेनी सुपरमार्केटमा लुटपाट र तोडफोड गरिएको थियो भने नेकपा एकीकृत समाजवादीको कार्यालयमा आगजनी गरिएको थियो ।
अन्नपूर्ण मिडियाको कार्यालयमा पनि आगजनी र तोडफोड भएको थियो भने कान्तिपुर टेलिभिजनको कार्यालयमा ढुंगामुढा प्रहार गरी तोडफोड गरिएको थियो । यसका अलावा विभिन्न सवारी साधनमा तोडफोड र आगजनी भएको थियो भने जडिबुटीमा रहेको सन्चो कारखानामा पनि प्रदर्शनकारीले आगजनी गरेका थिए ।
उक्त प्रदर्शनका योजनाकार पूर्वराजा भएको भन्दै सामाजिक सञ्जालमा पक्राउ गर्न माग गर्दै अभियान चलेको हो । उक्त प्रदर्शनलाई हिंसात्मक बनाउन भिडलाई उक्साएको, तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा प्रहरीले राप्रपाका नेताहरू धवल शमशेर राणा र रवीन्द्र मिश्र सहित एक सयभन्दा बढीलाई पक्राउ गरिसकेको छ ।