कान्तिपुर टेलिभिजनमा भएको आक्रमणको जिम्मा आयोजकले लिनुपर्छ : मानव अधिकार आयोग

चैत्र १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर टेलिभिजनमा भएको आक्रमणको जिम्मा आयोजकले लिनुपर्छ : मानव अधिकार आयोग

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कान्तिपुर टेलिभिजन कार्यालयमा भएको तोडफोड र आक्रमण घटनाको जिम्मेवारी आयोजकले नै लिनुपर्ने बताएको छ । राजावादीहरूको हिंसात्मक प्रदर्शनका क्रममा हिजो कान्तिपुर टेलिभिजनमा गरेको आक्रमणबाट भएको क्षतिको निरीक्षणपछि आयोग टोलीले दोषीमाथि कारबाही हुनुपर्ने बताएको हो ।

आयोगका सहसचिव यज्ञप्रसाद अधिकारी नेतृत्वको टोलीले आज कान्तिपुर टेलिभिजनको अनुगमन गरेको हो । सहसचिव अधिकारीले आक्रमणप्रति आयोजक नै जवाफदेही हुनुपर्ने र राज्यले पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो ।

सहसचिव अधिकारीले सञ्चारमाध्यममाथि भएको आक्रमण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण भएको उल्लेख गर्दै कान्तिपुर टेलिभिजनमाथि भएको आक्रमणले आयोगलाई पनि संवेदनशील बनाएको बताउनुभयो । शुक्रबार राजावादीहरूद्वारा भएको हिंसात्मक प्रदर्शनका क्रममा सञ्चारमाध्यमलाई निशाना बनाइएको देखिएको पनि आयोगका सहसचिव अधिकारीले बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.