नेपाल पुलिस क्लबले जित्यो प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको उपाधि

चैत्र १६, २०८१ |खेल ब्युरो
नेपाल पुलिस क्लबले जित्यो प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लबले लगातार दोस्रो पटक प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आज सम्पन्न फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै पुलिसले उपाधि रक्षा गरेको हो ।

पहिलो सिजन आर्मीसँग उपाधि साझा गरेको पुलिसले समग्रमा चौथो पटक पीएम कप जितेको हो । आर्मीले छैठौं पटक प्रतियोगिताको उपविजेतामा चित्त बुझायो । अहिलेसम्म भएका सातवटै संस्करणको फाइनल पुगेको आर्मीले पहिलो संस्करणमा ट्रफी बाँड्नु बाहेक अन्य संस्करणको फाइनलमा हारको सामना गरेको छ ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा पुलिसले टस जितेर पहिला फिल्डिङ रोजेपछि ब्याटिङ गरेको आर्मीले ४३ ओभरमा अल आउट हुँदै १५४ रनको योगफल तयार पारेको थियो । निकै खराब सुरुआत गरेको आर्मीले २५ रन जोड्दा सुरुआती ५ विकेट गुमाइसकेको थियो । छैठौं विकेटका लागि कप्तान विनोद भण्डारी र बसिर अहमदले ७२ रनको महत्वपूर्ण साझेदारी गरे । विनोद २९ रनमा आउट भए । नवौं विकेटका लागि बसिर र विवेक यादवबीच ३६ रनको साझेदारी भयो । विवेक ११ रनमा बाहिरिए । बसिरले अविजित रहँदै सर्वाधिक ८६ रन जोडे । 

पुलिसका सागर ढकालले ३, कप्तान दीपेन्द्रसिंह ऐरीले २ तथा ललित राजवंशी र गुल्शन झाले समान १-१ विकेट लिए । १५५ रनको सामान्य लक्ष्य पुलिसले २५ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । पुलिसलाई च्याम्पियन बनाउन कुशल भुर्तेल र अमित श्रेष्ठले ७७ रनको ओपनिङ साझेदारी गरे । अमित ३९ रनमा आउट भए । कुशल भुर्तेलले सर्वाधिक ६१ रन जोडे । गुल्शन झा ९ र शंकर राना १ रनमा आउट भए । दिलिप नाथ ३१ रनमा अविजित रहे । 

आर्मीका लागि शाहब आलमले ३ तथा नरेन साउदले १ विकेट लिए । लिग चरणमा शीर्ष २ मा रहेर आर्मी र पुलिस फाइनलमा प्रवेश गरेका थिए । लिग चरणमा आर्मीले पुलिसको १८ खेलको विजयी यात्रामा पूर्णविराम लगाए पनि फाइनलमा सोही नतिजा दोहोर्याउन सकेन ।