काठमाडौं । नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउनुको कारणबारे प्रधानमन्त्रीको जवाफ माग गर्दै विपक्षी दलले अवरोध गरेपछि प्रतिनिधि सभा बैठक भोलिसम्मका लागि स्थगित भएको छ । बिहान ११ बजे बस्ने भनिएको बैठक विपक्षी दलहरूले संसद् अवरोध गर्ने जनाएपछि केही ढिला गरी बस्यो ।
बैठकको सुरुमै विपक्षी दलका सांसदहरूले उठेर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले माओवादी सांसद शक्तिबहादुर बस्नेतलाई बोल्न समय दिनुभयो । सांसद बस्नेतले राम्रो काम गर्दागर्दै पनि स्वार्थ समूहका लागि कुलमान घिसिङलाई हटाइएको आरोप लगाउनुभयो । उहाँले सरकारले गरेको निर्णय सच्याउन माग गर्नुभयो भने यस विषयमा प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन चल्न नदिने चेतावनी दिनुभयो ।
सांसद बस्नेतले बोलिसकेपछि विपक्षी सांसदहरू पुन: उठे । सभामुख घिमिरले नियमित कारबाही अघि बढाउन सहयोगका लागि आग्रह गरे पनि विपक्षी सांसदले अवरोध जारी राखेपछि ३० मिनेटका लागि बैठक स्थगित गर्नुभयो । तर २ घण्टासम्म सहमतिको प्रयास भए पनि विपक्षीले प्रधानमन्त्रीको जवाफ नआए संसद् चल्न नदिने अडान राखेपछि पुन: सूचना टाँस गरेर बैठक स्थगित भयो । र, पुनः ३ बजे बस्ने गरी बैठक सारिएको थियो । तर दोस्रो बैठकमा पनि निरन्तर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरी बिहीबार ११ बजेका लागि बोलाउनुभएको हो ।
राष्ट्रिय सभामा पनि विपक्षी दलले कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्री ओलीको जवाफ माग गर्दै निरन्तर अवरोध गरेपछि बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ ।
बैठकको सुरुमै विपक्षीहरूले अवरोध गरेपछि अध्यक्ष नारायण दाहालले माओवादी केन्द्रका सांसद गोपीबहादुर अछामीलाई बोल्न समय दिनुभयो । उहाँले पनि सरकारले पुरस्कृत गर्नुपर्ने कुलमानलाई दण्डित गरेको भन्दै प्रधानमन्त्रीको जवाफ माग गर्नुभयो ।
प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद चल्न नदिने अडान राखेपछि अध्यक्ष दाहालले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभयो । त्यहाँ पनि सहमति जुट्न सकेन र अर्को बैठक ४ बजेका लागि तोकियो । उक्त बैठकमा पनि विपक्षीले अवरोध कायम नै राखेपछि अध्यक्ष दाहालले भोलिसम्मका लागि स्थगित गर्नुभएको हो । बैठक भोलि सवा १२ बजे बस्नेछ ।
यता संसद् बैठकबाट बाहिरिएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि प्रधानमन्त्री ओलीले रोस्ट्रममा आएर चित्तबुझ्दो जवाफ नदिएसम्म सदन चल्न नदिने बताउनुभयो । प्रधानमन्त्रीले संसद्मा चित्तबुझ्दो जवाफ नदिए आन्दोलन अघि बढ्ने पनि दाहालको चेतावनी छ ।
संक्रमणकालीन न्यायबारे छलफल गर्न बैठक बोलाए लगत्तै मन्त्रिपरिषद्बाट कुलमान घिसिङलाई हटाउनु अर्को जालझेल भएको दाहालको दाबी छ । आफूले फेरि स्वर्ग र नर्कको प्रसंग सम्झेको पनि उहाँले स्मरण गर्नुभयो ।
शान्ति प्रक्रियाको विषयसँग प्राधिकरणको नेतृत्व साटेको भन्ने आरोपलाई माओवादी अध्यक्ष दाहालले बेइमानीपूर्ण प्रचारको संज्ञा दिनुभयो ।
अर्कोतर्फ, प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा छाती पिटेर रुनेहरूलाई आफूले सदनमा जवाफ नदिने बताउनुभएको छ । युवा संघ नेपालले आज काठमाडौंमा गरेको भेलामा प्रधानमन्त्री ओलीले घिसिङलाई हटाउने निर्णयप्रति भइरहेको आलोचनाप्रति कटाक्ष गर्दै संसद्मा जवाफ दिन आवश्यक नरहेको बताउनुभयो । एउटा हटाएर अर्को नियुक्ति गर्नु नै जवाफ भएको उहाँको भनाइ छ ।
प्रधानमन्त्रीले ओलीले विपक्षीलाई सस्तो, हल्का र उत्ताउलो नहुन तथा प्रधानमन्त्रीका विषयमा जथाभावी नबोल्न चेतावनी दिनुभयो ।
चैत १८ गतेभित्र अध्यादेशहरूलाई प्रतिस्थापन विधेयक ल्याएर पारित गर्नुपर्ने अवस्थालाई रोक्न विपक्षीले सदन अवरोध गरेको प्रधानमन्त्री ओलीको आरोप छ ।