काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निरंकुशतावादी र आपराधिक मनस्थितिका व्यक्तिलाई कडा कारबाही गर्ने समय आएको बताउनुभएको छ । उनीहरूलाई कारबाही गर्न सरकारले चाल्ने कदममा आफ्नो पार्टीको सर्मथन हुने पनि उहाँले बताउनुभयो ।
प्रेस सेन्टरको पाँचौं महाधिवेशनको आज काठमाडौंमा उद्घाटन गर्दै माओवादी केन्द्रका अध्यक्ष दाहालले गणतन्त्रवादी सच्चिनुपर्ने समय आएको र निरंकुशतावादीलाई कारबाहीको उपयुक्त समय भएको बताउनुभएको हो । उहाँले सरकारमा रहेका दलहरूलाई गम्भीर बन्न आग्रह समेत गर्नुभयो ।
अध्यक्ष दाहालले निरंकुश राजतन्त्रका समयमा पनि सञ्चारमाध्यम उनीहरूको निशानामा परेको र अहिले पनि राजावादीहरूले सञ्चारमाध्यमलाई निशाना बनाएको बताउनुभयो ।
दाहालले देशको शान्ति प्रक्रियालाई सफल बनाउनदेखि गणतन्त्र स्थापना र संविधान निर्माणसम्ममा प्रेस सेन्टरले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको दाबी गर्नुभयो ।