कुलमानको रिटमा भोलि मात्र प्रक्रिया अघि बढाइने

चैत्र १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
कुलमानको रिटमा भोलि मात्र प्रक्रिया अघि बढाइने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट आफूलाई पदमुक्त गर्ने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङ सर्वोच्च अदालत पुग्नुभएको छ । आज साँझ ५ बजे रिट पेश भएकाले भोलि मात्रै हेरेर प्रक्रिया अघि बढाउने सर्वोच्च अदालतले जानकारी दिएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले कार्यालय समय सकिने बेला रिट आएकाले भोलि मात्रै अध्ययन गरी प्रक्रिया अघि बढाउने जानकारी दिनुभयो । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई कार्यकाल सकिनुभन्दा ४ महिनाअघि नै पदमुक्त गर्ने निर्णय गरेको थियो । घिसिङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र ऊर्जा मन्त्रालयललाई विपक्षी बनाएर रिट पेश गर्नुभएको छ । आफूलाई बर्खास्त गर्ने सरकारको निर्णय बदर गरी तत्काल कामकारबाही गर्न दिनू भनी अन्तरिम आदेशको समेत उहाँले माग गर्नुभएको छ ।

कार्यकाल बाँकी रहँदै पदबाट हटाएपछि मंगलबार दिउँसोभर घिसिङले कानुन व्यवसायीसँग परामर्श गर्नुभएको थियो । तर सरकारले हटाएको जानकारीको पत्र मंगलबार साँझ मात्रै दिइएकाले बुधबार साँझ मात्रै उहाँले रिट पेश गर्नुभएको हो ।

सरकारले समयमै कार्यसम्पादन नबुझाएकोले सम्झौता उल्लंघन गरेको आरोप लगाउादै पदमुक्त गरेको हो । स्वदेशमा विभिन्न जलविद्युत् आयोजना तथा प्रसारण लाइन निर्माणको काममा जाँदा र विद्युत् आदानप्रदान सम्बन्धी बैठकका लागि भारत जाँदा मन्त्रीको स्वीकृति नलिएको र डेडिकेटेड र ट्रंक लाइनको बक्यौता प्रमाण पेश गरी समयमै नउठाएको जस्ता आरोप घिसिङमाथि लगाइएको छ । 

घिसिङलाई पदमुक्त गरेकोमा विरोध जनाउादै प्राधिकरणको केन्द्रीय कार्यालय सहित राजधानीका विभिन्न स्थानमा प्रदर्शन भएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.