काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णयको चौतर्फी विरोध भइरहेको छ । प्रतिपक्षी, सत्तापक्षदेखि सामाजिक क्षेत्रमा सक्रिय व्यक्ति तथा आम नागरिकले यो निर्णय फिर्ता लिनुपर्ने माग गर्दै विरोध जनाइरहेका छन् । कुलमान घिसिङबारे सरकारले लिएको निर्णयका विषयमा प्रतिपक्षी र सत्तारुढ दलका नेताहरु के भन्छन् त ?
सरकारले सोमबार कुलमान घिसिङलाई हटाउने निर्णय गरेलगत्तै सत्तारुढ नेपाली कांग्रेसकै दुई महामन्त्री विरोधमा उत्रिए । उनीहरुले सामाजिक सञ्जालमार्फत् सरकार उल्टोबाटो हिँडेको र यसले गन्तव्यमा नपुर्याउने प्रतिक्रिया दिएका थिए । अन्य दलका नेता-कार्यकर्ताले समेत सरकारको यो कदमको विरोध गरिरहेका छन् । तर यसरी विरोध भइरहेका बेला कांग्रेस सभापति शेरबहादुर देउवा भने सरकारको निर्णयप्रति समर्थन जनाइरहनुभएको छ ।
उता अर्का नेता शेखर कोइरालाले पनि कुलमान घिसिङलाई हटाउने निर्णय अनुचित भन्दै विरोध गर्नुभएको छ ।
यसले सरकारको मुख्य साझेदार नेपाली कांग्रेसभित्रै निर्णयप्रति ठूलो असन्तुष्टि रहेको स्पष्ट संकेत गर्छ । उता प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलहरु सरकारको निर्णयको चर्को स्वरमा विरोध गरिरहेका छन् ।
सोमबारको मन्त्रिपरिषद् बैठकमै पनि केही मन्त्रीहरुले कुलमान घिसिङलाई तत्काल हटाउन नहुने धारणा राखेका थिए । तर, ऊर्जामन्त्रीको जोडबल र कांग्रेस सभापति देउवासँग सोमबार नै छलफल गरेका प्रधानमन्त्रीले हटाउने निर्णय लिएको देखिन्छ ।
सरकारले गरेको यो निर्णयको राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायतका दलहरुले पनि विरोध गरेका छन । लामो लोडसेडिङको अध्याँरोबाट देशलाई मुक्त गराएको श्रेय पाइरहेका कुलामानलाई हटाएको विषयमा सरकारसँग भने ठोस जवाफ देखिँदैन ।