अन्तर्राष्ट्रिय हवाई भाडामा ३ सय प्रतिशतसम्म मूल्यवृद्धि, सिजनमै बुकिङ रद्द

नियामक मूकदर्शक
चैत्र १३, २०८१ |भरत रावल
अन्तर्राष्ट्रिय हवाई भाडामा ३ सय प्रतिशतसम्म मूल्यवृद्धि, सिजनमै बुकिङ रद्द

काठमाडौं । अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले टिकटमा अचाक्ली मूल्यवृद्धि गरेपछि अग्रिम टिकट बुकिङ गरेका पर्यटकले बुकिङ रद्द गर्न थालेका छन् । पर्यटकीय सिजन सुरु भएसँगै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले २ वर्षअघिको तुलनामा ३ सय प्रतिशतसम्म मूल्य बढाएका हुन् । 

पर्यटक घटेपछि वसन्त ऋतुको पहिलो महिना अर्थात् मार्च सकिनै लाग्दा पनि होटेलको औसत अकुपेन्सी ६० प्रतिशतभन्दा बढी नाघ्न सकेको छैन ।

युरोप र काठमाडौंलाई जोड्ने कतार एअरवेजले मार्च ३० का लागि दोहा-काठमाडौं एकतर्फी भाडा १ लाख १८ हजार तोकेको छ । अप्रिल ८ का लागि टिकटको मूल्य अझ बढाएर १ लाख ४४ हजार पुर्‍याएको छ । जुन टिकट दुई वर्षअघि ४० देखि ५० हजारमै पाइन्थ्यो । यस्तै टर्किस एअरलाइन्सले इस्तानबुल-काठमाडौं एकतर्फी टिकटको मूल्य आगामी दुई साताका लागि १ लाख ४३ हजार तोकेको छ । यो मूल्य दुई वर्षअघि अर्थात् सन् २०२३ को तुलनामा ३ सय प्रतिशत बढी हो । 

अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नति र नेपाल वायुसेवा निगमको कमजोरीको फाइदा उठाउँदै अचाक्ली भाडा बढाएपछि पर्यटन व्यवसायी निरास छन् ।

अहिले काठमाडौंकै पर्यटकीय तारे होटेलको औसत अकुपेन्सी ५५ देखि ६० प्रतिशत मात्रै छ । नेपाल आउने पर्यटकले आफ्नो खर्चको झन्डै ७० प्रतिशत हवाई भाडामै तिर्नुपर्ने भएपछि सोधपुछ गर्न मात्रै हच्किएका छैनन्, बुकिङ गरेकाहरूले समेत टिकट धमाधम रद्द गरिरहेका छन् ।

दुई वर्षअघि जापानदेखि नेपालसम्मको टिकटको मूल्य ६० हजार रहेकोमा यस वर्षको मार्चमा बढेर १ लाख २८ हजार पुगेको छ । त्यस्तै दुई वर्षअघि श्रीलंकाबाट नेपाल आउने टिकट ४० हजारबाट बढेर ६५ हजार पुगेको छ । युरोपका विभिन्न देशबाट नेपालसम्मको हवाई भाडा १ लाख हाराहारीमा रहेकोमा अहिले २ लाखदेखि २ लाख ५० हजारसम्म पुगेको छ ।


Image

भरत रावल

रावल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।