२१ हिमताल अति जोखिममा, पानीको स्रोत जोगाउन चुनौती

चैत्र १२, २०८१ |विकास आचार्य
२१ हिमताल अति जोखिममा, पानीको स्रोत जोगाउन चुनौती

काठमाडौं । पृथ्वीमा जीवको उत्पत्ति नै पानीभित्र भएको हो । प्राचीन मानव सभ्यताहरु नदी किनारामा विकास भए । तर वर्तमान अवस्थामा आइपुग्दा जीवनको अस्तित्व जोगाउने पानीको संरक्षण गर्न मानव सभ्यताकै लागि चुनौती भएको छ । किनकी पानीको मुख्य स्रोत हिमालमा हिउँ पग्लिने क्रम बढ्दा भविष्यमा पानीको थप संकट निम्तिने जोखिम बढेको छ । हिमनदी पग्लने क्रम बढ्दा तल्लो तटीय क्षेत्रमा कालान्तरमा स्वच्छ पिउने पानीको संकट मात्र होइन, जलविद्युत् र कृषि प्रयोजनमा प्रत्यक्ष असर पर्ने देखिन्छ ।

नेपालमा ३८ सयभन्दा बढी हिमनदी र २३ सयभन्दा बढी हिमताल पत्ता लागेका छन् । यी मध्ये २१ हिमताल अति जोखिममा छन् । गत भदौमा सोलुखुम्बुको थामेमा हिमताल बिस्फोट हुँदा सयौं मानिस विस्थापित भएका थिए । उनीहरुको अझै पुनर्स्थापना हुन सकेको छैन । जलवायु परिवर्तनको असरले तापक्रम बढ्दा हिउँ पग्लिने क्रम तीब्र छ । हिमतालमा पानीको सतह बढ्दै छ । हिमतालले पानीको चाप धान्न नसक्दा बिष्फोट हुने र हिमनदीहरुमा पानीको सतह बढ्दा तल्लो तटिय र नदी आसपासका वस्तीनै जोखिममा पर्ने अध्ययनले देखाएको छ ।

नेपालमा सन् १९९७ देखि नै हिमताल विस्फोट भएर क्षति पुर्‍याउँदै आएका छन् । त्यसयताको २८ वर्षको अवधिमा ३० भन्दा बढी हिमताल विस्फोट भएको अध्ययनहरुले देखाएका छन् । विज्ञहरु भने तापक्रम वृद्धिमा कमी ल्याउन सके मात्रै हिमालमा हिउँ अड्याउन सकिने भएकाले विश्वभर कार्वन उत्सर्जन काम गर्नुपर्ने सुझाव दिन्छन् ।

सन् २००० देखि २००९ को १० वर्षको तुलनामा सन् २०१० देखि २०१९ सम्ममाको १० वर्षमा ६५ प्रतिशत छिटो हिँउ पग्लिएको अनुसन्धानकर्ताहरुको दाबी छ । सरकारले पनि जलवायु परिवर्तनको सबैभन्दा धेरै असर हिमालमा परेको भन्दै अन्तर्राष्ट्रिय समुदायलाई गुहारिरहेको छ ।

विश्वभर नै पानी उपलब्ध गराउने मुख्य स्रोत हो- हिमाल । तर, त्यही हिमालमा हिउँ नटिक्नु, हिमनदीको क्षेत्रफल घट्दै जानु संकटको चेतावनी हो । नेपाल जस्ता हिमाल भएका मुलुकले सामूहिक पहल गरेर अन्तर्राष्ट्रिय समुदायसमक्ष हिमाल संरक्षणमा दर्बिलो आवाज उठाउन नसके पानीको संकट निम्तने जोखिम थप बढ्ने छ ।


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।