दाङमा एक प्लाई उद्योगमा लागेको आगो ४० घण्टापछि आयो नियन्त्रणमा

चैत्र १२, २०८१ |अमर क्षितिज भण्डारी
दाङमा एक प्लाई उद्योगमा लागेको आगो ४० घण्टापछि आयो नियन्त्रणमा

दाङ । दाङमा रहेको साङग्रीला प्लाई उद्योगमा लागेको आगो ४० घण्टा पछि नियन्त्रणमा आएको छ ।

सोमबार बिहान करिब १ बजेबाट लागेको आगो आज दिउँसो मात्र नियन्त्रणमा आएको हो । दाङ जिल्लाका ३ कपिलबस्तु र बाँके जिल्लाबाट २/२ र बर्दियाको १ गरी ८ वटा हिजो काम गरेका थिए भने आज ६ वटा दमकल र सुरक्षाकर्मीको सहायोगमा आगो नियन्त्रणमा आएको दाङका प्रहरी प्रवक्ता प्रहरी नयाब उपरीक्षक चक्रबहादुर शाहाले जानकारी दिनुभयो ।

ठूलो मात्रामा प्लाई बनाउन मौज्दात गरीएको कच्चा पदार्थ, ज्वलनशील काठ र अति प्रज्वलनशील केमिकल रहेको साथै बारुण यन्त्र आगलागी भएको मुख्य स्थानमा जानै नसक्ने भएपछि आगलागी नियन्त्रणमा ढिलाइ भएको हो । ठूलो आगो गएराति निभाइए पनि प्लाईउडको थुप्रो, काठ तथा काठको भुसमा लागेको आगो ठाउँ ठाउँमा बलिरहेको दिउँसो अबेरसम्म पनि देखिन्थ्यो ।

अग्नी नियन्त्रण सम्बन्धी आवश्यक दक्ष जनशक्ति र उपकरण नहुँदा ठूलो क्षति बेहोर्नुपरेको सरोकारवालाको भनाइ छ ।

७ विगाहा क्षेत्रफलमा फैलिएको उद्योगमा रहेका सबै सामग्री पूर्ण रुपमा जलेका छन् । आगोलागीबाट भण्डारण गरिएका तयारी प्लाई, प्लाई बनाउन तयार गरिएका काठका पाता, त्यसमा प्रयोग गरिने केमिकल लगायत उद्योगमा प्रयोग गरिएका सबै उपकरणहरू जलेर नष्ट भएका छन् ।

आज आगलागी पूर्ण रुपमा नियन्त्रणमा आएपछि अब क्षतीको विवरण संकलनको काम हुने प्रहरीले जनाएको छ ।


Image

अमर क्षितिज भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दाङ सहकर्मी हुन् ।