घोराहीको प्लाइ उद्योगमा भएको आगलागीबाट ५० करोडभन्दा बढीको नोक्सानी, कच्चा पदार्थ र मेसिन जलेर नष्ट

दुई घरमा पनि क्षति
चैत्र ११, २०८१ |अमर क्षितिज भण्डारी
घोराहीको प्लाइ उद्योगमा भएको आगलागीबाट ५० करोडभन्दा बढीको नोक्सानी, कच्चा पदार्थ र मेसिन जलेर नष्ट

दाङ । दाङको सांग्रिला प्लाइ उद्योगमा गए रातिदेखि भएको आगलागीले उद्योगको कच्चा पदार्थ र मेसिन पूर्णरूपमा जलेर नष्ट भएको छ । जिल्लामा पर्याप्त वारुणयन्त्र नभएका कारण आगो निभाउन १८ घण्टाभन्दा बढी समय लाग्यो । 

७ बिघा क्षेत्रफलमा फैलिएको उद्योगमा भएको आगलागीबाट ५० करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान छ । आगोले उद्योग आसपास रहेका दुई वटा घर र एउटा गोठमा सामान्य क्षति पुर्‍याएको छ ।

आइतबार मध्यरात सबै मस्त निद्रामा थिए । ५० वर्षका गिरिराज रोका चर्पी जाने भनेर १ बजे बाहिर निस्कनुभयो । प्लाइ उद्योगसँगै सटेको घर भएका रोका बाहिर निस्कँदा उद्योगमा दनदनी आगो बलिरहेको थियो । रोकाको होस हवास उड्यो । दौडदै गएर उद्योगका सुरक्षा गार्डलाई खबर गर्नुभयो ।

हतार हतार विभिन्न ठाउँमा खबर गर्न थालियो । पालिकासँग रहेका दमकललाई खबर भयो । रातको समय साढे दुई बजे पहिलो दमकल आइपुग्यो । नेपाल प्रहरी पनि आगलागी स्थलमा पुग्यो । अन्य सुरक्षा निकाय सशस्त्र प्रहरी नेपाली सेना पनि थपिए । आगोले रौद्ररूप देखाइसकेको थियो । चाहेर पनि आगो नियन्त्रणमा लिने कुरा सुरक्षाकर्मीको काबुमा थिएन । 

उद्योगमा रहेको चिम्नी पड्किने हल्लाले केहीबेर स्थानीयहरूको भागाभाग भयो । उद्योगसँगै रहेका घरहरूमा आगो फैलिने जोखिम रहेका कारण सुरक्षाकर्मीको ध्यान त्यतातर्फ लाग्यो । दमकल र सुरक्षाकर्मी थपिँदै गए । घरबाट सामान बालबच्चा लिएर मानिसहरू खुला चौरमा आधारात कटाए । सानो पूँजीबाट २०६३ सालदेखि सुरु गरेको प्लाइ उद्योग जलिरहेको थियो । उद्योग सञ्चालक के गर्ने कसो गर्ने ध्याउन्नमै हुनुहुन्थ्यो ।

१८ वर्ष पहिले स्थापना भएर विकसित हुँदै गएको उद्योगमा दैनिक ७ सय जनाले रोजगारी पाएका थिए । उत्पादित सांग्रिला प्लाइ नेपालका सबैजसो जिल्लामा पुग्थ्यो पछिल्नो दुई वर्षदेखि भारत-चीन निर्यात हुँदै आएको थियो । ७ बिघा क्षेत्रफलमा फैलिएको उद्योग खरानी बनेको छ । आफैंमा ठूलो उद्योग र त्यहाँ रहेका ज्वलनशील प्लाइ, काठजन्य वस्तु, मेसिन तथा औजारहरू रहेका कारण सल्किएको आगो निभाउन समयमै सम्भव भएन । 

जिल्लामा पर्याप्त मात्रामा दमकल नभएकै कारण कपिलवस्तु, बाँके र बर्दियाबाट दमकल मगाउनु पर्यो । ५० करोडमाथिको क्षति भएको प्रारम्भिक अनुमान छ । जिल्लामा रहेका १० स्थानीय तहसँग चालु अवस्थामा दमकल भएको भए क्षति कम गर्न सकिने कतिपयको बुझाइ छ । भैपरी आउने विपत्तिको सामना गर्न र विपद् प्रतिकार्यको तयारीमा सरकारहरू चुकेको देखिन्छ ।

गए राति भएको यो आगलागीका कारण उद्योगीले करोडौं रुपैयाँ गुमाएका छन् भने प्रत्यक्ष ७ सय जनाले रोजगारी गुमाएका छन् । उद्योग आसपास रहेका दुई वटा घर र एउटा गोठमा सामान्य क्षति भएको छ । बाह्य जोखिम टरे पनि उद्योगमा लागेको आगो पूर्णरूपमा अझै नियन्त्रणमा आउन सकेको छैन ।


Image

अमर क्षितिज भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दाङ सहकर्मी हुन् ।