काठमाडौं । नेकपा एकीकृत समाजवादीले राजावादीहरूले प्रदर्शनका क्रममा पार्टी कार्यालयमा गरेको आगजनी, तोडफोडविरुद्ध देशभर भण्डाफोर र प्रदर्शन गर्ने भएको छ ।
नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले राजावादी समर्थकले गरेको आगजनी, तोडफोडविरुद्ध भण्डाफोर अभियान चलाउने निर्णय गरेको जानकारी दिनुभयो ।
शुक्रबार राजावादीहरुको आन्दोलनका क्रममा प्रदर्शनकारीहरुले काठमाडौंको आलोकनगरस्थित केन्द्रीय कार्यालय र काठमाडौं जिल्ला कार्यालय तथा पार्टी अध्यक्ष माधवकुमार नेपालको कोटेश्वर स्थित निवास लगायतका स्थानमा ढुंगामुडा, तोडफोड र आगजनी गरेका थिए ।
त्यसविरुद्ध एकीकृत समाजवादीले चैत २५ गतेभित्र सबै प्रदेश, जिल्ला, स्थानीय कमिटी र जनसङ्गठनहरूले सम्बन्धित तहमा देशव्यापी विरोध प्रदर्शन र भण्डाफोर गर्ने निर्णय गरेको हो ।