राजावादीका नाममा आपराधिक समूहले देखाएको अराजकताको एमालेद्वारा भर्त्सना

चैत्र १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
राजावादीका नाममा आपराधिक समूहले देखाएको अराजकताको एमालेद्वारा भर्त्सना

काठमाडौं । नेकपा एमालेले राजावादीका नाममा आपराधिक समूहले उद्दण्डता, अराजकता, तोडफोड, लुटपाट, हत्या र हिंसाका घटना गराएको भन्दै त्यसको निन्दा र भर्त्सना गरेको छ । आइतबार बसेको एमालेको ४७औं केन्द्रीय सचिवालय बैठकपछि एक विज्ञप्ति जारी गर्दै एमालेले उक्त गतिविधिको भर्त्सना गरेको हो ।

‘शान्तिपूर्ण प्रदर्शनका नाममा सवारी साधनको प्रयोग गरी सुरक्षा घेरा तोड्ने, सुरक्षाकर्मीमाथि आक्रमण गर्ने, हतियार खोस्ने, सर्वसाधारण नागरिकका घर, व्यावसायिक भवन, सञ्चार गृह, राजनीतिक दलका कार्यालय र सरकारी भवनमाथि आगजनी गर्ने, लुटपाट गर्ने, जानी जानी हिंसा र आतंक सिर्जना गर्ने तथा मुलुकको लोकतान्त्रिक प्रणालीलाई बिथोलेर अराजकतातिर धकेल्ने जस्ता अराजक र आपराधिक क्रियाकलापको छानबिन गरी दोषीउपर तत्काल कारबाहीको प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकषर्ण गर्दछ’, एमालेको विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा उक्त प्रदर्शनका क्रममा मारिएकाहरूप्रति समवेदना र घाइतेहरूको शीर्घ स्वास्थ्य लाभको कामना गरिएको छ ।

एमालेले आफू लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि दृढतापूर्वक उभिने सङ्कल्प गर्दै पश्चगमनका दुष्प्रयासका विरूद्ध गोलबन्द हुन आह्वान समेत गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.