सञ्चारमाध्यममा क्षति पुर्‍याउने र सञ्चारकर्मीको ज्यानै जाने गरी हमला गर्ने घटना आपत्तिजनक : प्रेस काउन्सिल

चैत्र १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
सञ्चारमाध्यममा क्षति पुर्‍याउने र सञ्चारकर्मीको ज्यानै जाने गरी हमला गर्ने घटना आपत्तिजनक : प्रेस काउन्सिल

काठमाडौं । प्रेस काउन्सिल नेपालले गत शुक्रबार राजावादीहरूको प्रदर्शनका क्रममा सञ्चार गृहहरूमा भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काउन्सिलले एक विज्ञप्ति जारी गर्दै कान्तिपुर टेलिभिजन र अन्नपूर्ण पोस्ट दैनिकको कार्यालयमा भएको आक्रमण साथै हिमालयन टेलिभिजनको सवारी साधनमा भएको तोडफोडका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

काउन्सिलका निमित्त अध्यक्ष विजयराज अधिकारीको अध्यक्षतामा आइतबार बसेको बैठकले सञ्चार गृह तोडफोड गर्ने, आगजनी गर्ने, हमला गर्ने कार्यमा संलग्नलाई प्रचलित कानुन बमोजिम कारबाहीको दायरामा ल्याउन र सञ्चारकर्मी, सञ्चार गृहमा सुरक्षाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । यस्तै, केही सञ्चारमाध्यम तथा मिडियाका आवरणमा सञ्चालित सामाजिक सञ्जालहरूबाट संविधानले प्रत्याभूत गरेको लोकतान्त्रिक व्यवस्था प्रतिकूलको व्यवस्थाको पक्षपोषण, समर्थन गरी समाजलाई उद्वेलित बनाउने किसिमबाट निरन्तररूपमा एकपक्षीय सामग्री सम्प्रेषण गरेको देखिएको भन्दै त्यस्ता सञ्चारमाध्यम तथा सामाजिक सञ्जालको समेत अनुगमन गर्ने पनि बैठकले निर्णय गरेको छ ।

काउन्सिलले सञ्चारमाध्यमको भौतिक संरचनामा क्षति पुर्‍याउने र पत्रकारको ज्यान जाने गरी भएका यस्ता घटना प्रेस स्वतन्त्रता विरोधी भएको समेत ठहर गरेको छ । शुक्रबारको प्रदर्शनका क्रममा आगो लगाइएको भवनको समाचार संकलनको क्रममा एभिन्यूज टेलिभिजनका पत्रकार (क्यामेरा पर्सन) सुरेश रजकको मृत्यु भएको र अनलाइनखबर डटकमका पत्रकार दिनेश गौतमको खुट्टा भाँचिएको जानकारी समेत प्राप्त भएको काउन्सिलले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.