रवीन्द्र मिश्र र धवलशमशेरलाई ५ दिन म्याद थप

चैत्र १७, २०८१ |रमेश धमला
रवीन्द्र मिश्र र धवलशमशेरलाई ५ दिन म्याद थप

काठमाडौं । राजसंस्था पुनर्स्थापनाका नाममा हिंसात्मक आन्दोलन गरेको आरोपमा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल सम्शेर जबरालाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

शुक्रबार तिनकुनेमा पत्रकारको ज्यानै जाने तथा व्यक्तिको निजी घर र संचारगृहमा आगजनी गराउन राणा र मिश्रको भूमिका रहेको भन्दै प्रहरीले पक्राउ गरेको थियो । आइतबार जिल्ला अदालत काठमाडौंमा संगठित अपराध, राज्य विरुद्धको कसुर र आपराधी उपद्रो सम्बन्धी अभियोगमा अनुसन्धानका लागि म्याद लिन उपस्थित गराइएको थियो । 

न्यायाधीश तारावेदी मर्हजनको इजलासले मिश्र र राणा सहित ४१ जनालाई ५ दिन हिरासतमै राखेर अनुसन्धानका लागि अनुमति दिएको हो । एक सयभन्दा बढीलाई पक्राउ गरेको प्रहरीले घटनामा संलग्नहरुको विवरण र जानकारी लिएर ४१ जनालाई मुद्दा चलाउने निर्णयमा प्रहरी पुगेको हो । 

पक्राउ परेकामध्ये राप्रपाका नेताहरु मिश्र, राणासहित ११ जनालाई संगठित, राज्यविरुद्ध र आपराधिक उपद्रोको कसुरमा अनुसन्धान गर्न म्याद लिइएको छ भने अन्य ३० जनाविरुद्ध आपराधिक उपद्रो सम्बन्धी कसुरमा मात्रै अनुसन्धान हुनेछ । 

अन्य फरारको पनि खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख विश्व अधिकारीले जानकारी दिनुभयो । प्रहरी र प्रशासनसँग कार्यक्रमका लागि एउटा अनुमति लिएर सझदारी गर्ने तर त्यसलाई उल्लंघन गर्दै हिंसामा संलग्नहरु कोही पनि उम्किन नसक्ने एसएसपी अधिकारीले बताउनु भयो । 

भाटभटेनी सुपरमार्केटमा लुटपाटमा संलग्नहरु ९ जना पनि पक्राउ परिसकेसका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख रमेश बस्नेतका अनुसार लुटपाट, निजी घर र संचारगृहमा आगजनी गर्नेहरुको तस्विर र भिडियोको आधारमा खोजी चलिरहेको छ । 

सुरक्षामा खटिएका प्रहरीलाई बेवास्था गर्दै कुल्चिनेगरी गाडी कुदाउने दुर्गा प्रसाईंलाई भने प्रहरीले पक्रन सकेको छैन । आन्दोलनका नाममा हिंसात्मक अपराध गर्नेहरु कारबाहीको दायरामा ल्याउन प्रहरीको विषेश टोली नै परिचालन गरिएको छ । प्रहरीले पक्राउ परेकाहरुलाई ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्नेछ ।


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।