दाङ । दाङको घोराही उपमहानगरपालिका–९ खैरामा रहेको प्लाई उद्योगमा आगलागी भएको छ । खैरामा रहेको सांग्रीला प्लाई उद्योगमा विद्युत सट भएर आगलागी भएको हो ।
आगलागीका कारण प्लाई बनाउन प्रयोग हुने काठ, कच्चा पदार्थ, प्लाई बनाउन प्रयोग हुने मेसिनलगायतका सामग्री जलेर नस्ट भएको छ ।
उद्योगमा आगलागी राती करिव साढे १ बजेदेखि लागेको र अझै नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिनुभएको छ ।
प्रहरी नायव उपरीक्षक शाहका अनुसार आगलागीका कारण मानवीय क्षति भने भएको छैन । उहाँका अनुसार आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायत स्थानीयबाट प्रयास भइरहे पनि नियन्त्रणमा आउन सकेको छैन ।
उद्योगमा लागेको आगो ठुलो भएका कारण घोराही र तुलसीपुर उपमहानगरपालिकाबाट दमकल आएपनि नियन्त्रणमा ल्याउन नसकिएको प्रहरीले जानकारी दिएको छ । उद्योगमा लागेको आगलागीबाट करोडौंको क्षति भएको अनुमान गरिएको छ । आगलागी नियन्त्रणको प्रयास जारी छ तर आगो नियन्त्रण बाहिर छ थप विवरण आउन बाँकी ।