ताप्लेजुङ । पाथीभरामा केबलकार निर्माणको विपक्षमा रहेको समूह र सरकारी वार्ता टोलीबीचको छलफलले उच्चस्तरीय वार्ताका लागि पहल गर्ने सहमति गरेको छ ।
सरकारी वार्ता टोलीका संयोजक सहसचिव प्रेमप्रसाद भट्टराईले भन्नुभयो, “उहाँहरूले उठाएको विषय हामीले सम्बोधन गर्न सकेनौं, उहाँहरूको टोली पनि समन्वय समिति मात्रै रहेछ, त्यसैले हाम्रो (सरकारी) पनि उच्चस्तरको लागि पहल गर्ने र उहाँहरूले पनि उच्चस्तरको समिति बनाउने भन्ने भएको छ ।”
केबलकार निर्माणको विपक्षमा रहेको समूहबाट वार्तामा सहभागी आलोक माबोहाङले आफूहरूले एक मात्र प्रस्ताव केबलकार खारेजी राखेको र सरकारी समितिले हामीबाट सम्भव छैन भनेपछि सम्भव हुने समिति बनाउने निर्णय भएको बताउनुभयो । “हाम्रो एक मात्र माग केबलकार खारेजी हो, उहाँ (सरकारी समिति संयोजक) ले मबाट सम्भव छैन भन्नुभयो, त्यसो भए उच्चस्तरको समिति बनाउने कुरा भयो ।”
७ गतेभित्रमा वार्ता गर्ने सहमति भएको पनि उहाँले बताउनुभयो ।
भट्टराईका अनुसार सरकार, केबलकार निर्माण कम्पनी र आन्दोलनरत समूहसँग पुनः वार्ता हुनेछ । आन्दोलनरत्त समूहबाट अहिलेसम्म समन्वय समिति मात्रै रहेको छ । केबलकारको विपक्षमा रहेको समूह सरु सिंघकको नेतृत्वमा छलफलमा बसेका थिए । वार्ता टोली र आन्दोलरत समूहबीच यसअघि दुई पटक वार्ता भएकाे थियो ।
दोस्रो वार्तापछि सहसचिव स्तरीय समितिले आफूहरूको माग सम्बोधन गर्न नसक्ने भन्दै आन्दोलनरत समूहले आन्दोलनका कार्यक्रम घोषणा गरेर आन्दोलित भएका थिए । आन्दोलनका क्रममा १८ जना पक्राउ परेका छन् । प्रहरीले नौ जनालाई पक्राउ आदेश लिएको छ ।