काठमाडौं । नेपाल टेलिकमले २ वर्षअघि नै परीक्षण गरेको तीव्र गतिको फाइभ जी नेटवर्क अझै व्यावसायिक रूपमा सञ्चालनमा आउन सकेको छैन । टेलिकम कम्पनीहरू फाइभ जीमा लाग्ने महँगो लगानी नउठ्ने भन्दै पन्छिरहेका छन् । छिमेकी भारतसहित दक्षिण एसियाली मुलुकहरूले फाइभ जी प्रविधि सुरु गरेर प्रविधि क्षेत्रमा त्यसको लाभ उठाइरहँदा नेपालमा भने पूर्वाधार, लागत र नीतिगत अस्पष्टता लगायतका कारण ढिलाइ भइरहेको छ ।
सन् २००७ मा थ्री जी सुरु गरेर दक्षिण एसियामै अग्रस्थानमा रहेको नेपाल फाइभ जीमा भने निकै पछि परेको छ । माल्दिभ्सले सन् २०१९ मै फाइभ जी ल्याइसकेको छ भने २०२२ मा फाइभ जी सुरु गरेको भारतले अहिले ९० प्रतिशत भूभागमा प्रविधि विस्तार गरिसकेको छ । पाकिस्तान र श्रीलंकाले समेत व्यावसायिक सुरुआतको तयारी गरिरहेका छन् । तर २०२३ मा परीक्षण गरेको नेपालमा भने कहिले सुरु हुन्छ अझै टुंगो छैन ।
व्यावसायिक देशैभर सम्भव नभए शहरी क्षेत्रमा फाइभ जी भित्र्याउन ढिला गर्न नहुने विज्ञको भनाइ छ ।
फाइभ जीका दुई प्रविधि हुन्छन् स्ट्यान्डर्ड र ननस्ट्यान्डर्ड । ननस्ट्यान्डर्ड फोरजीबाटै अपग्रेड गर्ने प्रविधि हो भने स्ट्यान्डर्ड नयाँ उपकरणबाट बन्ने प्रविधि हो । नेपाल टेलिकमले दुई वर्षअघि ननस्ट्यान्डर्ड प्रविधिबाट काठमाडौं, पोखरा, वीरगन्ज र विराटनगरमा फाइभ जी परीक्षण गरे पनि त्यसपछि सञ्चालन गरेन । फाइभ जी सञ्चालनका लागि आवश्यक फ्रिक्वेन्सीका लागि पनि नेपाल टेलिकमले चासो देखाएको छैन ।
सेवा प्रदायक कम्पनीहरू नेपाल टेलिकम र एनसेल अझै फाइभ जीका लागि तयार छैनन् । फाइभ जी भित्र्याउन ७० अर्ब लाग्छ । तर भ्वाइस कलमा आएको कमीका कारण दूरसञ्चार क्षेत्रको आम्दानीमा निरन्तर गिरावट आइरहेकाले सेवा प्रदायकहरू फाइभ जी मा गर्ने लगानीले प्रतिफल दिनेमा विश्वस्त हुन सकेका छैनन् ।
त्यति मात्रै होइन फाइभ जी व्यक्तिगतभन्दा पनि व्यावसायिक रूपमा बढी प्रयोग हुने हुँदा टेलिकम कम्पनीहरू फाइभ जीका लागि तयार नभएको सेवा प्रदायकको दाबी छ । अहिले सञ्चालनमा रहेको फोर जी ९० प्रतिशत जनसंख्यामा विस्तार भएको छ । तर नियमित डेटा प्रयोग गर्ने उपभोक्ताको संख्या भने २० प्रतिशत मात्रै छ ।