महोत्तरी । महोत्तरीको परौल बजारका स्थानीय व्यापारीहरूले आज बजार बन्द गरेका छन् । बलवा नगरपालिका–३ परौल बजारमा रहेको शिवशान्ति ज्वेलर्सको ताल्चा फोडेर लाखौंको चोरी गरेपछि व्यापारीहरू टायर बालेर प्रदर्शनमा उत्रिएका हुन् ।
शनिबार राति जीप चढेर आएको एउटा समूहले सुन पसलमा लुटपाट गरी बर्दिवासतर्फ भागेको सीसीटीभी फुटेजमा देखिए पनि प्रहरीले अनुसन्धानमा असहयोग गरेको भन्दै व्यापारीहरू बजार बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् ।
शिवशान्ति ज्वेलर्सका सञ्चालक अरुणकुमार साहका अनुसार ५ जनाको समूहमा आएका चोरहरूले पसलमा रहेको २० तोला सुन, १ लाख ५० हजार नगद, चोरी गरेर लगेका छन् ।
सुन पसलमा लागेको सीसीटीभी क्यामराको हार्डडिस्क चोरहरूले लगे पनि नजिकै रहेको अन्य क्यामरामा चोरी गर्न प्रयोग भएको जीप र चोरीमा संलग्नहरूको भिडिओ कैद भएको छ । पसलमा राति नै चोरी भए पनि आइतबार बिहान ९ बजे मात्रै थाहा भएको सञ्चालक साहले बताउनुभयो ।