काठमाडौं । सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ ।
प्रतिनिधि सभाको आज बसेको बैठकले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक मत विभाजन प्रक्रियामार्फत पारित गरेको हो । विधेयकमाथि दफावार छलफलपछि निर्णायार्थ प्रस्तुत गर्ने बेला विपक्षी २८ सांसदले मत विभाजन माग गरेका थिए । मत विभाजन हुँदा १४५ उपस्थित सांसदमध्ये ९६ जनाले पक्षमा र ४९ जनाले विपक्षमा मतदान गरे ।
सरकारले विधेयकमा श्रमिकको अवकाश उमेर ५८ बाट ६० वर्ष बनाउने गरी प्रस्ताव गरेको थियो । तर पुरानै प्रावधान राख्न मागसहित परेको संशोधन सरकारले स्वीकार गरेर विधेयक पारित गरिएको हो ।
सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी अध्यादेश प्रतिस्थापन विधेयकमा सरकारले १२ वटा कानुन संशोधन गरेको थियो । जसमा २५ जनाले विभिन्न दफामा संशोधन हालेका थिए । तर श्रमिकको अवकाश उमेरबाहेक अरु कुनै पनि विषय संशोधन नगरी विधेयक पारित गरिएको छ ।
प्रतिनिधि सभा बैठकमा अहिले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि प्राप्त संशोधनसहित दफावार छलफल भइरहेको छ । जसमा ३० वटा संशोधन परेका छन् ।