धनकुटा । सुनसरीको चतराबाट धनकुटाको मूलघाट हुँदै मेची राजमार्ग जोड्ने तमोर करिडोर सडक आयोजनाको मूलघाट-हाङठूवा खण्डको ६४ प्रतिशत काम पूरा भएको छ । ठेक्का लागेको दोस्रो खण्डको हाङठूवा-गणेश चोक सडकमा कालोपत्रेको काम सुरु भएको छैन । यस्तै ट्र्याक खुले पनि स्रोत सुनिश्चित नहुँदा मूलघाट चतरा तेस्रो खण्डको काम भने अघि बढेको छैन ।
तमोर करिडोर सडक आयोजनाको १५५ किलोमिटरमध्ये मूलघाट-हाङठूवा खण्डको सुभाङ खोलासम्मको ६६ किलोमिटरमा काम तीव्र रूपले अघि बढेको छ । निर्माणाधीन यो सडकखण्डमा ढुवानी र यातायातका साधन चल्न थालेका छन् । आयोजनाको मूलघाट-हाङठूवा खण्ड सञ्चालनमा आएपछि यस क्षेत्रका बासिन्दालाई सडक सुविधा थपिएको छ ।
दुई अर्ब ७० करोड रुपैयाँ लागतको मूलघाट-हाङठूवा खण्डको कुल भौतिक प्रगति ६४ प्रतिशत पुगेको छ । ६६ मध्ये २४ किलोमिटरमा कालोपत्रे सकिएको छ । पाँच किलोमिटर नाला निर्माणको काम बाँकी छ । यो खण्डको निर्माण अवधि २०८२ कात्तिकसम्म हो । तर तोकिएको म्याद अगावै यो खण्डमा कालोपत्रेको काम सम्पन्न गर्ने निर्माण कम्पनीका प्रतिनिधिको भनाइ छ ।
पहिलो खण्डको मूलघाट-हाङठूवा ६६ किलोमिटर सडकको काम द्रुत गतिमा अघि बढे पनि सरकारले काम अनुसारको भुक्तानी दिन सकेको छैन ।
धनकुटा, तेह्रथुम, पाँचथर र ताप्लेजुङका स्थानीयलाई सुविधा पुग्ने गरी निर्माणाधीन १५५ किलोमिटर लामो सडकलाई तीन खण्डमा विभाजन गरिएको छ । मूलघाट-हाङठूवा ६६ किलोमिटर पहिलो, हाङठूवा-गणेश चोक ४६ किलोमिटर दोस्रो र चतरा-मूलघाट ४३ किलोमिटर तेस्रो खण्ड हुन् । यसमध्ये दोस्रो खण्डका लागि ठेक्का लागिसके पनि कालोपत्रे सुरु भएको छैन ।
तेस्रो खण्ड अन्तर्गत चतरा-मूलघाट ४३ किलोमिटरमा ट्रयाक खुलिसके पनि कालोपत्रेको प्रक्रियामा लैजान बजेट सुनिश्चित भएको छैन । स्रोत सहमति नजुट्दा चतरा-मूलघाट खण्डको काम अलमलमा परेको छ ।