आरिना साबालेन्कालाई मड्रिड ओपन टेनिसको उपाधि

वैशाख २१, २०८२ |खेल ब्युरो
आरिना साबालेन्कालाई मड्रिड ओपन टेनिसको उपाधि

काठमाडौं । मड्रिड ओपन टेनिसको उपाधि विश्व नम्बर एक आरिना साबालेन्काले जितेकी छन । साबालेन्काले फाइनलमा अमेरिकी खेलाडी कोको गौफलाई सोझो सेटमा पराजित गरेकी हुन् ।

बेलारूसकी साबालेन्काले पहिलो सेटमा ४-१ अंकको अग्रता लिँदै उत्कृष्ट सुरूवात गरेकी थिइन् । तर चौथो वरियता प्राप्त गौफले पुनरागमनको प्रयास गरिन् । उनले साबालेन्का संगको दुरी २-४ अंकमा झारेकी थिइन् । 

तरऽ उत्कृष्ट र्फममा रहेकी साबालेन्काले ६-३ ले सेट आफ्नो पक्षमा पारिन् । दोस्रो सेट प्रतिस्पर्धात्मक बन्यो । टाइब्रेकरमा साबाल्नेकाले बाजी मार्दै तेस्रो पटक मड्रिड ओपनको उपाधी आफ्नो नाममा लेखाइन् । 

गौफ भने वर्षको पहिलो उपाधीको खोजीमा थिइन् । उनले एक घन्टा ३९ मिनेट चलेको खेलमा साबालेन्काको चूनौती पन्छाउन असफल भइन् । भोली २७ वर्ष पुग्ने साबालेन्काको भने वर्षको यो तेस्रो डब्लु टि ए टुर उपाधी हो । 

 यो वर्ष उनी ब्रिसबेन र मायामीमा च्याम्पियन बनेकी थिइन् । एकै सिजन मायामी र मड्रिडमा उपाधि जित्ने , साबालेन्का केवल दोस्रो खेलाडी हुन्  । २०१३ मा सेरेना विलियम्सले यो सफलता प्राप्त गरेकी थिइन । 

साबालेन्का संयुक्त रूपमा सर्वाधिक तीन पटक मड्रिड ओपन जित्ने खेलाडी पनि बनेकी छन  । यसअघि पेट्रा कभिटोभाले तीन पटक उपाधि जितेकी थिइन् । साबालेन्कोको करियरको यो २०औं एकल टुर उपाधि हो ।