काठमाडौं । इङलिस प्रिमियर लिग -ईपीएलको उपाधि गुमाइसकेको आर्सनल बर्नमथसँग स्तब्ध भएको छ । गएराती भएको खेलमा बर्नमथले आर्सनललाई २-१ गोलले पराजित गरेको हो ।
इमिरेट्स स्टेडियममा आर्सनलले सुरूवाती अग्रता जोगाउन सकेन् । मिकेल अर्टेटाले बर्नमथविरुद्ध बलियो टोली उतारेका थिए । ३४औं मिनेटमा डेक्लान राइसले मार्टिन ओडेगार्डको सहयोगमा गोल गर्दै आर्सनलका लागि आफ्नो एक सयौं खेल विषेश बनाएका थिए ।
तर, पहिलो हाफमा केही राम्रा अवसर गुमाएको पाहुना टिमले ब्रैकपछि लय समात्यो । ६७औं मिनेटमा डिन हाउसेनले हेडर गोल गर्दै खेल बराबरी गरेका हुन् । ७५ औं मिनेटमा इभानिल्सनले गोल गरेपछि बर्नमथले आर्सनल माथि जीत हात पारेको हो ।
यो हारले आर्सनललाइ च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन पिएसजीसंगको खेल अघि धक्का लागेको छ । दोस्रो स्थानमा कायमै रहेको आर्सनलको ३५ खेलबाट ६७ अंक छ ।
तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी मात्र तीन अंकले पछि छ । लिरभपुलले यसअघिनै उपाधि जितिसकेको छ । बर्नमथको पनि अर्को सिजनको युरोपा लिगका लागि छनौट हुने आशा बढेको छ । आठौं स्थानमा रहेको उसको ३५ खेलबाट ५३ अंक् छ ।