सगरमाथा संवाद : तीन दिनमा १२ विषयमा घनिभूत छलफलदेखि हवाई उडानसम्मको तयारी

वैशाख २०, २०८२ |विकास आचार्य
सगरमाथा संवाद : तीन दिनमा १२ विषयमा घनिभूत छलफलदेखि हवाई उडानसम्मको तयारी

काठमाडौं । जलवायु परिवर्तनले पारेको असरबारे विश्वसमुदायलाई जानकारी दिने उद्देश्यले काठमाडौंमा हुने सगरमाथा संवादको तयारी अन्तिम चरणमा पुगेको छ । 

आगामी जेठ २ देखि ४ गतेसम्म हुने सगरमाथा संवादमा विदेशी पाहुनासहित जलवायु परिवर्तनको क्षेत्रमा काम गरिरहेका झन्डै ५० देशका तीन सय उच्चपदस्थ अन्तर्राष्ट्रिय पाहुनालाई निमन्त्रणा गरिएको छ । सगरमाथा संवाद सचिवालयले नेपालले आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’मा उल्लेख्य रूपमा पाहुनाले चासो देखाएको र धेरैले आउने निश्चित गरिसकेको जनाएको छ ।

अब चासो छ- छिमेकी देश भारत र चीनबाट कुनस्तरको प्रतिनिधित्व हुन्छ भनेर । प्रधानमन्त्री केपी ओलीले थाइल्याण्ड भ्रमणबाट फर्किँदा चैत ६ गते नै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी संवादमा नआउने बताइसक्नु भएको छ । 

तर, उच्चस्तरको प्रतिनिधित्व हुने दाबी उहाँले गर्नुभएकाले भारतले सगरमाथा संवादलाई महत्व दिएको देखिएको छ । त्यस्तै चीनबाट पनि को आउने भन्ने निश्चित भइसकेको छैन । 

तर, सरकारले चिनियाँ राष्ट्रपति वा प्रधानमन्त्रीस्तरको सहभागिताको अपेक्षा गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटरेस पनि अहिलेसम्म आउने/नआउने निर्क्योल भएको छैन । उहाँले आउने चाहना भने व्यक्त गरे पनि विश्वमा हुन सक्ने घटनाले नै त्यसको निर्धारण गर्ने स्रोतको भनाइ छ ।

के-के हुन्छ सगरमाथा संवादका तीन दिनमा ?

जेठ २ गते होटल सोल्टीमा बिहान साढे ९ बजेदेखि ११ बजेसम्म उद्घाटन कार्यक्रम हुनेछ । सोहीक्रममा उच्चस्तरीय प्रतिनिधिले बढीमा ५ मिनेटको सयमभित्र आफ्ना मन्तव्य राख्ने छन् ।

त्यसपछि सुरू हुन्छ- प्लेनरी सेसन । प्लेनरी सेसनको विषय छ- जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य । उच्चस्तरीयसत्रमा सम्बोधन गर्न नपाएका वा छुटेका उच्चस्तरका अतिथिहरूलाई यो सेसनमा समय दिइनेछ । यसमा विदेशी देशका वन तथा परराष्ट्रमन्त्रीसमेत सहभागी हुनेछन् । यही सेसनमा जलवायु परिवर्तनको क्षेत्रमा काम गरेका विज्ञहरूले पनि आफ्नो धारणा राख्ने छन् ।

सगरमाथा संवादको मुख्य विषयनै जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य हो । यही विषयभित्र रहेर पाँच वटा थिममा १२ वटा सेसन र तीन वटा प्लेनरी सेसन चल्नेछन् । दुई दिनसम्म सञ्चालन हुने सेसनमा राष्ट्रिय अन्तर्राष्ट्रिय अतिथिले आफ्नो धारणा प्रस्तुत् गर्ने छन् ।

पहिलो दिन के-के हुन्छ ?

उच्चस्तरीय र प्लेनरी सेसन सकिएपछि पर्वतभन्दा बाहिर : पर्वतलाई महासागरसँग जोड्दै’ थिममा रहेर चार वटा सेसन सञ्चालन हुनेछन् । जसमा हिमनदीहरूलाई संरक्षणको जरुरी, उच्च पहाडी भूभागलाई टापुहरूसँग जोड्दै, खाद्य सुरक्षा र जलवायु अनुकूल कृषि, हिमालमा समुदायको नेतृत्वमा जलवायु सुधारका पहलहरू विषयमा सेसन चल्नेछन् । प्रत्येक सेसनलाई डेढ समय निर्धारण गरिएको छ ।

दोस्रो दिन के-के हुन्छ ?

दोस्रो दिन नौ बजेबाटै सेसन सुरू हुन्छ । चारबाट थिममा ८ वटा सेसनमा सहभागी हुन सकिने छ । हरित अर्थतन्त्रभित्र रहेर ‘सशक्त भविष्य : स्वच्छ ऊर्जाको उपयोग’ र ‘पर्वतको प्रकृति, संस्कृति र साहसिक कार्यको अन्वेषण’ विषयमा सेसन सञ्चालन हुने छ । त्यसलगत्तै हानी नोक्सानीबाट बच्ने र न्यूनीकरण गर्ने उपायको थिममा ‘हिमालको जोखिम र मूल्याङ्कन, हिमालमा हुने क्षति र त्यसको सम्बोधन’ विषयमा सेसन सञ्चालन हुनेछ ।

खाना ब्रेकपछि मानवताको भविष्य र जलवायु न्याय विषयमा दिगो सहर तथा समुदाय, समावेशी भविष्य निर्माण : लैङ्गिक र अन्तरपुस्तागत समानता, हिमाली लचिलोपनका लागि विज्ञान र प्रविधिलाई जोड्ने काम र दिगो पर्वतीय अर्थतन्त्र गरी चार वटा सेसन सञ्चालन हुने छन् ।

अन्तिम थिम ४ बजेर ४५ मिनेटमा क्षेत्रीय तथा विश्वव्यापी साझेदारीमा विभिन्न क्षेत्रका विज्ञहरूले सामूहिक छलफल गर्नेछन् ।

तेस्रो दिन के हुन्छ ?

तेस्रो दिन अर्थात् जेठ ४ गते बिहान सगरमाथा संवादमा सहभागी उच्चस्तरका पाहुनालाई हवाई उडानमार्फत् सगरमाथाको अवलोकन गराउने कार्यक्रम छ । सो अवलोकनपछि १० बजे सगरमाथा संवाद २०२५ घोषणापत्र जारी हुनेछ । दिउँसो एक बजे कार्यक्रम समापन हुनेछ । 


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।