काठमाडौँ प्रवेशको मुख्य नाका नागढुङ्गा-पिपलामोड सडकखण्ड आंशिक रूपमा बन्द हुने

वैशाख २०, २०८२ |पोषनाथ अधिकारी
काठमाडौँ प्रवेशको मुख्य नाका नागढुङ्गा-पिपलामोड सडकखण्ड आंशिक रूपमा बन्द हुने

धादिङ । देशका ६७ जिल्लालाई सङ्घीय राजधानी काठमाडौँ जोड्ने मुख्य नाकाको रूपमा रहेको निर्माणाधिन मुग्लीन-नागढुङ्गा सडकको नागढुङ्गा-पिपलामोड खण्ड वैशाख २२ गतेदेखी आंशिक रूपमा बन्द हुने भएको छ ।

निर्माणाधीन मुग्लीन-नागढुङ्गा सडक खण्ड अन्तर्गत त्रिभुवनराजपथको पिपलामोड क्षेत्रमा सडक निर्माण र सुधार गर्न भन्दै २२ गते देखि वैशाख ३१ गतेसम्म देनिक राति ११ बजे देखि विहान ३ बजे सम्म सो क्षेत्रमा सवारी आवागमन बन्द हुने बताइएको छ ।

सूचनामार्फत् नागढुङ्गा-मुग्लीन सडक योजना (पूर्वी) खण्डले सो समयमा काठमाडौंबाट बाहिरिने सवारी साधनलाई नागढुङ्गा चेकपोष्ट र काठमाडौं प्रवेश गर्ने सवारी साधनलाई धादिङको खत्रिपौवामा रोकिने समेत जनाएको छ । 

आयोजनाले सो समयमा यात्रा गर्ने पर्ने भए सितापाईला भिमढुङ्गा-रामाकोट-धार्के सडक तथा सामाकोसी-टोखा-गुजैभन्ज्याङ-छहरे-त्रिशुली-गल्छी सडकलाई वैकल्पिक सडकको रूपमा प्रयोग गर्न सकिने समेत बताएको छ ।

साथै आयोजनाले रोकिएको समयमा यो सडकखण्ड भएर सङ्घीय राजधानी प्रवेशका लागी आउने र राजधानीबाट बाहिरिने सबै सवारीका साधाहरूले आफ्नो लेन अनुसारको अनुशासनमा रही सवारी चलाउन र ट्राफिक नियमको पालन गर्न समेत सवारी चालकहरूलाई आग्रह गरेको छ । यो सडक खण्डमा दैनिक १२ देखि १३ हजार सवारी साधन आउजाउ गर्ने गर्दछन् ।

बन्द गरिने समयमा बिरामी बोकेका एम्बुलेन्स, प्रहरी दमकल जस्ता सवारी साधनहरू भने आउजाउ गर्नेछन् ।  


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।