डोल्पा । डोल्पाको ठूलीभेरी नगरपालिकाले जिल्लामा पहिलो पटक सोमबारदेखि नगर बस सञ्चालनमा ल्याएको छ । ३२ सिट क्षमता भएको बस ठूलीभेरी नगरपालिकाको जुफाल दुनै र त्रिपुराकोटसम्म सेवा दिने नगर प्रमुख श्वबर्णकुमार बुढाले बताउनुभयो ।
नगरप्रमुख बुढाले डोल्पाको शक्तिपीठको रूपमा रहेको बाला त्रिपुरासुन्दरी माता भगवतीको मन्दिरमा गएर पूजापाठ गरी सोमबारदेखि नै नगर बस सेवा सञ्चालनमा ल्याएको बताउनुभयो ।
दुनै-जुफाल, जुफाल-दुनैको १४ किलोमिटर र दुनै-त्रिपुराकोट, त्रिपुराकोट-दुनैभित्रको १६ किलोमिटर दूरीमा सर्वसाधारणहरूले विगत लामो समयदेखि ५ सय रुपैयाँ महँगो भाडा तिर्दै यात्रा गर्न बाध्य थिए । नगर बसमा भने न्यूनतम रकममा यात्रा गर्न पाउने भएकोमा सर्वसाधारण खुशी भएका छन् । नगर बस सञ्चालनमा आएसँगै अहिलेको भाडा ५० प्रतिशत कम हुने प्रमुख प्रशासकीय अधिकृत डिलप्रसाद रोकायाले बताउनुभयो ।