धनकुटा । मदन पुरस्कार विजेता धनकुटाकी झमक घिमिरेले शारीरिक असक्तताका बीच नै आफूलाई सशक्त लेखक बनाउनुभयो । तर यति बेला उहाँको स्वास्थ्य प्रतिकूलता थप जटिल बन्दै गएको छ । बिमारीले च्याप्दै लगेपछि उहाँले लेख्न सक्नुभएको छैन् भने दैनिक हेरचाह र उपचारमा समेत समस्या थपिँदै गएको छ ।
धनकुटाको कचिडेमा जन्मनुभएकी ४४ वर्षीया साहित्यकार झमक घिमिरेका दुइटै हात र खुट्टा चल्दैनन् । उहाँ बोल्न सक्नुहुन्न । जन्मजात मष्तिष्क पक्षघातबाट पीडित घिमिरेले देब्रेखुट्टाका दुई औंलाको सहारामा लेखेकामध्ये १४ वटा साहित्यिक कृति प्रकाशित भइसकेका छन् । उहाँको आत्मकथा जीवन काँडा कि फूल ले २०६८ सालको मदन पुरस्कार समेत प्राप्त गरेको थियो ।
अध्ययन र लेखनको कामबाट कहिल्यै नथाक्ने उहाँमा पुरानो रोग छँदै थियो, अहिले नसाको समस्या थपिएको छ । नियमित बाहेक उहाँमा बारम्बार आकस्मिक र फरक स्वास्थ्य समस्या देखिन थालेका छन् ।
सरकारले झमक घिमिरेका लागि काठमाडौंको गोठाटारमा घर बनाइदिएको थियो । तर उहाँ त्यो घरमा लामो समय बस्न सक्नुभएन । झमकका लागि सरकारले उपलब्ध गराउने मासिक २५ हजार रुपैयाँ निर्वाह भत्ता र पुस्तक बिक्री बापत केही रकम प्राप्त हुन्छ । त्यसैले उहाँको दैनिकी, औषधि र उपचार चलेको छ ।
झमक अहिले धनकुटाको कचिडेस्थित घरमा आमाबाबु र बहिनीका साथमा हुनुहुन्छ । ८१ वर्षीय बाबु कृष्णबहादुर घिमिरे पक्षघातले थलिनुभएको छ । सडक दुर्घटनापछि आमा आशादेवी सजिलो गरी हिँड्न सक्नुहुन्न । झमकका भाइ वैदेशिक रोजगारीको बाध्यताले टाढिएको धेरै भयो । झमकलाई यति बेला थप हेरचाह र उपचार आवश्यक छ ।
झमक घिमिरेका बाँकी पाण्डुलिपि प्रकाशनको पर्खाइमा छन् । लेख्ने काम अझै बाँकी छ । तर उहाँको स्वास्थ्य र पारिवारिक अवस्था प्रतिकूल बनेर उभिएको छ ।