काठमाडौं । सहिद स्मारक बि डिभिजन लिगमा बोइज युनियन क्लबले सरस्वती क्लबलाई हराएको छ । सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा बोइज युनियनले सरस्वती क्लबलाई २-१ ले हराएको हो ।
बोइज युनियनलाई जित दिलाउने क्रममा दिव्यविक्रम चौधरीले र मिलन लिम्बूले गोल गरेका थिए । यता खेलको २६औं मिनेटमा नै विशेष लामाले गोल गरेर सरस्वतीलाई एक-शून्यको अग्रता दिलाएका थिए । तर, उसले अग्रता जोगाउन सकेन । ३५औं मिनेटमा दिव्यविक्रमले गोल फर्काएपछि पहिलो हाफसम्म एक-एक गोलको बराबरी भएको थियो ।
दोस्रो हाफको ९० मिनेटसम्म थप गोल नभएपछि खेल बराबरीमै सकिन लागेको थियो । तर स्टपेज समयमा मिलनले गोल गरेर बोइज युनियनलाई तीन अंक दिलाउन सफल भए ।
आजको जितसँगै बोइज युनियनले ७ खेलबाट ९ अंक बनाएको छ । खराब सुरुआत गरेको बोइज युनियनले पछिल्ला खेलमा कमब्याक गरेको छ । यता, सरस्वती क्लब भने ६ अंकका साथ १२औं स्थानमा छ।
आजै, भएको पहिलो खेलमा श्री भगवती क्लबले नयाँबस्ती युवा क्लबलाई ३-० ले हरायो । श्री भगवतीका लागि दिवस छन्त्याल, अमित लामा र विक्रान्त नरसिंह रानाले गोल गरेका थिए ।
खेलको तेस्रो मिनेटमा नै दिवसले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि पहिलो हाफमा नै उसले ३-० को अग्रता बनाएको थियो । दोस्रो हाफमा पनि नयाँबस्तीले कमब्याक गर्न नसकेपछि श्री भगवती विजयी भयो । आजको जितसँगै १७ अंक बनाएको भगवती तालिकाको दोस्रो स्थानमा छ ।