रुपन्देही । नेपाल-अंग्रेज युद्धका बेला बुटवलको जीतगढीमा नेपाली फौजले अंग्रेज फौजलाई हराएको थियो । वैशाख ७ गतेको त्यही इतिहास सम्झेर बुटवलमा जीतगढी उत्सव मनाइएको छ ।
सन् १८१४ अर्थात् विक्रम सम्वत् १८७२ मा नेपाल र अंग्रेज सेनाबीच युद्ध भएको थियो । जीतगढी किल्लालाई केन्द्रबिन्दु बनाएर तत्कालीन पाल्पा राज्यका कर्णेल उजिरसिंह थापा नेतृत्वको सेनाको फौजले झन्डै ३ महिना अंग्रेजसँग लडेको इतिहास छ ।
जताततै जितेका बेला यो गढीमा भने अंग्रेज फौजले हार व्यहोर्यो र फर्केर गयो । यस्तो गौरवमय इतिहास बोकेको जीतगढी किल्लामा आइतबार युद्धको झल्को दिँदै जीतगढी उत्सव मनाइएको छ ।
वैशाख ७ लाई लुम्बिनी प्रदेश सरकारले विजय उत्सव घोषणा गरेको छ । उत्सवको अवसरमा गोरखाबाट तनहुँ पाल्पा हुँदै विजय उत्सव मनाउन आएको नेपाली सेनाको पैदलयात्री टोलीलाई बुटवलमा स्वागत गरिएको छ । नेपाली सेनाको पैदलयात्री आएसँगै एकताको झल्को दिन बाजागाजा र झाँकीसहित जीतगढी पुगेको टोलीले विभिन्न युद्धनाच नाचेको थियो ।
२ सय ५ फिट लामो र ८ फिट चौडा जितगढी किल्लामा नुवाकोट र फुलबारी जोड्ने सुरुङ छ । अहिले जीतगढीलाई तारबारले घेरिएको छ । बीचमा अंग्रेज फौजलाई हराउन नेतृत्व गरेका कर्णेल थापाको पूर्णकदको सालिक बनाइएको छ । छेउमै युद्ध लडेका अन्य १३ सेनाको अर्द्धकदको सालिक छ । युद्धका प्रतीक छन् । २० मिटर अग्लो टावर बनाएर राष्ट्रिय झण्डा फहराइएको छ ।
जीतगढी राष्ट्रियताको प्रतिक र पहिचान हो । वाषिर्क रुपमा मनाइने उत्सवसँगै जीतगढीको संरक्षण र प्रचार गर्न सके पर्यटन प्रवर्द्धन गर्न, देशको इतिहास बचाउन र नयाँ पुस्तालाई पुर्खाको योगदान स्मरण गराउन सहयोग पुग्ने छ ।