हिमालपारिको जिल्ला मनाङमा पहिलो पटक सार्वजनिक बस सञ्चालनमा

स्थानीय हर्षित
वैशाख ७, २०८२ |आश गुरुङ
हिमालपारिको जिल्ला मनाङमा पहिलो पटक सार्वजनिक बस सञ्चालनमा

मनाङ । हिमालपारिको जिल्ला मनाङमा पहिलो पटक सार्वजनिक यातायातका रूपमा बस सेवा सञ्चालनमा ल्याइएको छ । लमजुङ सदरमुकाम बेंसीशहरदेखि मनाङ सदरमुकाम चामेसम्म सञ्चालन हुने उक्त बस सेवाको आइतबार पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य टेकबहादुर गुरुङले औपचारिक उद्घाटन गर्नुभयो ।

बस सेवाको उद्घाटन गर्दै गुरुङले सार्वजनिक बस सञ्चालन भएसँगै यातायात व्यवस्थापनमा उल्लेखनीय सुधार आउने बताउनुभयो । पर्यटकसँगै यात्रुहरूले उचित भाडामा सहज यात्रा गर्न सक्ने र मालसामान ढुवानी समेत सहज हुने गुरुङको विश्वास छ ।

बसलाई लमजुङ र मनाङको सिमानामा पर्ने म्याग्दे पुलमा भव्य स्वागत गरिएको मनाङका प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले बताउनुभयो । उहाँका अनुसार स्थानीय तथा पर्यटकलाई सहज रूपमा सेवा प्रवाह गर्ने उद्देश्यले सार्वजनिक बस सञ्चालनमा ल्याइएको हो ।

प्रजिअ आचार्यका अनुसार पहिलो चरणमा चामे र बेंसीशहरबाट एउटा एउटा बस छुट्ने छ भने त्यसपछि यात्रुको आवश्यकताका आधारमा बस थप गरिने छ ।

मनाङमा हालसम्म यात्रुका लागि मुख्य रूपमा पाँच सिटे क्षमताका पिकअप जीप मात्र सञ्चालन हुँदै आएका छन् । जसका कारण यात्रुले कठिन यात्रा गर्नुपर्ने, महँगो भाडा तिर्नुपर्ने तथा सुरक्षित यात्रा गर्न नसक्ने समस्या छ ।


Image

आश गुरुङ

गुरुङ कान्तिपुर टेलिभिजनका लमजुङ संवाददाता हुन् ।