काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले युद्धरत रूस र युक्रेनबीच यसै साता सम्झौता हुनसक्ने बताउनुभएको छ । युद्ध अन्त्यको प्रयासमा आफू जुटिरहेको भन्दै ट्रम्पले दुवै पक्षले यसै साता सम्झौता गर्ने आशा व्यक्त गर्नुभएको हो ।
राष्ट्रपति ट्रम्पले यस विषयमा विस्तृत विवरण भने दिनुभएको छैन । यसअघि अमेरिकाले रूस र युक्रेनका अधिकारीसँग साउदी अरबमा छुट्टाछुट्टै वार्ता गरेको थियो । ३० दिने युद्धविरामको प्रस्तावमा किएभ सहमत भए पनि मस्कोले भने विभिन्न शर्त अघि सारेको थियो । अमेरिका रूससँग सिधा संवादमा रहे पनि युद्ध अन्त्यको प्रयासमा उल्लेखनीय प्रगति हुन सकेको छैन ।
अमेरिकाले दुई मुलुक तयार नभए आफू मध्यस्थताको प्रयासबाट बाहिरिने चेतावनी दिइसकेको छ ।
यसैबीच, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले इस्टरका अवसरमा शनिबार घोषणा गरेको ३० घण्टे युद्धविराम समाप्त भएको छ । उक्त अवधिमा युक्रेन र रूसले एकअर्कामाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धविराम लागू भएयता रूसी सेनाले झन्डै तीन हजार पटक उल्लंघन गरेको दाबी गर्नुभएको छ । जेलेन्स्कीका अनुसार युद्धविराम अवधिमा मात्रै १८ सय ८२ पटक गोलाबारी भएको थियो । जसमा ८१२ पटक भारी हतियार प्रयोग गरिएको थियो । पोक्रोभस्क शहर वरपर भीषण हमला भएको बताइएको छ ।
उता, रूसको रक्षा मन्त्रालयले युक्रेनले सयौं ड्रोन र गोली प्रहार गरेको आरोप लगाएको छ । दुवै पक्षका दाबीलाई स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको बीबीसीले जनाएको छ ।
बेलायतले भने ३० घण्टे युद्धविरामलाई एक दिने नाटक भनेको छ । बेलायती विदेश मन्त्रालयले यस अवधिमा निर्दोष युक्रेनीहरुको हताहती हुने हिसाबले युद्धविराम उल्लंघन भएको आरोप लगाएको छ ।