काठमाडौं । पश्चिमी वायु प्रणाली सक्रिय हुँदा देशका हिमाली र पहाडी क्षेत्रमा हिमपात तथा वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली भेगमा हिमपात र उच्च पहाडी क्षेत्रमा अत्यधिक वर्षा भएको हो ।
लामो समयको खडेरीले अन्न बाली बिग्रन थालेको भन्दै चिन्तित बनेका सुदूरपश्चिम र कर्णालीका किसानलाई हिमपात र वर्षाले राहत पुगेको छ । कर्णालीका हिमाली जिल्ला हुम्ला, मुगु, डोल्पा, कालीकोट र जुम्लाका अधिकांश ठाउँमा अत्यधिक हिमपात भएको छ भने अन्य पहाडी जिल्लामा गहुँ, जौं लगायत अन्न बालीलाई पुग्ने गरी वर्षा भएको छ । हिमपातका कारण कर्णालीका सबै हिमाली जिल्लामा सुर्खेत र नेपालगन्जबाट हुने हवाई उडान रद्द भएका छन् ।
हुम्लास्थित सिमकोट विमानस्थलमा झन्डै २ फिट हिउँ जमेको छ । हिमपातका कारण मध्यपहाडी राजमार्ग, गमगढी-नाग्म सडक र सिमकोट हिल्सा लगायत झन्डै एक दर्जन सडकमा यातायात सेवा बन्द भएको छ । हिमपातका कारण स्थानीयलाई घरबाहिर निस्कन समस्या भएको हुम्ला सिमकोटका मदन रोकायाले बताउनुभयो । उहाँका अनुसार बाक्लो हिमपातका कारण हुम्लाको नाम्खा गाउँपालिकाबाट सदरमुकाम सिमकोट आउने सबै पैदल मार्ग बन्द भएका छन् ।
फागुनको दोस्रो साता कटेपछि सोलुखुम्बुको खुम्बु क्षेत्रमा हिमपात भएको छ । हिउँदमा पर्न नसकेको हिउँ जाडो सकिनै लाग्दा मध्य फागुनमा परेको हो । गए रातिदेखि उच्च हिमाली भेगमा हिमपात तल्लो क्षेत्रमा वर्षा भइरहेको हो ।
समुद्री सतहबाट ३४ सय ५० मिटरको उचाइमा रहेको नाम्चे बजारभन्दा माथिको क्षेत्रमा अत्यधिक हिमपात भएको छ । यो वर्षकै ठूलो हिमपात भएपछि स्थानीय हर्षित भएका छन् । हिउँ परेसँगै नाम्चे बजार र माथिल्लो क्षेत्र पुरै सेताम्मे भएको नाम्चेका स्थानीय छिमिकाल्देन शेर्पाले बताउनुभयो । अहिले नाम्चे बजारमा १ फिटसम्म हिउँ जमेको छ । हिउँ परेसँगै चिसो अधिक बढेकाले सतर्कता अपनाउन आग्रह गर्दै नेपाल प्रहरीले बिहानैदेखि हिमाली गस्ती सुरू गरेको छ । प्रहरीले हिमाली बस्तीमा पुगरे चिसोका कारण भएको समस्याबारे बुझ्ने र जोगिन सल्लाह दिने काम थालेको हो ।
सोलुखुम्बुको तल्लो क्षेत्रका डाँडाकाँडा पनि हिमपातपछि सेताम्मे भएका छन् । दूधकुण्ड, पिकेडाँडा, रातनाङ्गे र पत्तालेका डाँडामा हिउँ परेको छ । त्यस्तै दक्षिणी भेगमा पानी परेसँगै हिउँदे बाली सप्रिने आशामा किसान खुशी छन् ।
त्यस्तै दोलखामा पनि गए रातिदेखि हिमपात भएको छ । बाक्लो हिमपातले जनजीवन प्रभावित भए पनि बालीनाली सप्रिने भएकाले किसान खुशी छन् ।
यसैबीच मौसम विभागले अहिले कोशी र बागमती प्रदेशमा मेघगर्जनसहित वर्षा भइरहेको र यो प्रणाली विस्तारै पूर्वमा सर्ने क्रममा रहेकाले भोलिदेखि मौसममा सुधार आउने जनाएको छ ।