काठमाडौं । गाजामा ६ साताको युद्धविरामको बदलामा हतियार त्याग्नुपर्ने इजरायलको प्रस्ताव हमासले अस्वीकार गरेको छ ।
युद्धविरामको बदलामा हमासले हतियार त्याग्नु पर्ने सर्त अस्वीकार गरेको एक प्यालेस्टिनी अधिकारीले जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । इजरायलको योजनामा युद्ध अन्त्य गर्ने कुनै प्रतिबद्धता नदेखाइएको ती अधिकारीले भनेका छन् ।
हमासका मुख्य मागलाई पनि यसमा सम्बोधन गरिएको थिएन । बदलामा, हमासद्वारा बन्धक बनाइएका आधाभन्दा धेरैलाई रिहा गर्न भनिएको थियो । गाजामा इजरायलको सैन्य कारबाही जारी रहेको समयमा शर्तसहितको युद्धबिरामको प्रस्ताव आएको हो । हालै, गाजाको खान युनिसमा रहेको एक फिल्ड अस्पतालमा हवाई आक्रमण भएको थियो ।
यसमा एक सुरक्षा गार्डको मृत्यु भएको थियो भने ९ जना घाइते भएका छन् । यसैबीच, इजरायली सेनाले हमासका एक नेता मारिएको बताएको छ । युद्ध सुरु भएयताको १८ महिनामा गाजामा मानवीय अवस्था सबैभन्दा खराब स्थितिमा पुगेको संयुक्त राष्ट्र सङ्घले चेतावनी दिएको छ ।