कांग्रेस महामन्त्री विश्वप्रकाशको सरकारलाई सुझाव : कार्यशैली बदल्नुपर्छ

वैशाख ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
कांग्रेस महामन्त्री विश्वप्रकाशको सरकारलाई सुझाव : कार्यशैली बदल्नुपर्छ

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको कामप्रति असन्तुष्टि व्यक्त गर्नु भएको छ । सामाजिक सञ्जालमार्फत आफ्ना भनाइ राख्दै महामन्त्री शर्माले 'सरकार चल्नुपर्छ तर कार्यशैली बदल्नुपर्छ' भन्नु भएको छ । महामन्त्री शर्माले आफ्ना चासो र चिन्तालाई ७ बुँदामा उल्लेख गर्दै सरकारको समीक्षा गर्नु भएको हो ।

महामन्त्री शर्माले सरकारमाथि राखेका धारणा यस्ता छन् : 

१. सामाजिक सञ्जाल विधेयक नियमनका नाममा नियन्त्रणको नियत साथ ल्याइयो । अध्यादेशको प्रत्येक अक्षरमा संवाद गरिएको संयन्त्रमा यो विधेयक ल्याउनुपूर्व कुनै संवाद भएन ।

२. कुलमान प्रकरणमा हटाउनुहुन्न भन्ने कांग्रेसभित्रको फरक मत र आम जनमतको हेक्का राखिएन । असन्तुष्टिको आगोमा चरु हाल्नुहुन्न भन्ने सजगता सरकारमा देखिएन ।

३. शिक्षक आन्दोलनको माग सम्बोधन गर्न ढिलाइ हुँदै गएको छ । सरकारले निर्णय गर्न मिल्ने बुँदाहरुमा महासंघलाई विश्वासमा लिएर अविलम्ब निर्णयमा पुग्नुपर्छ, विधेयक मार्फत टुंगोमा पुग्ने बुँदाहरुप्रति साझा प्रतिबद्धता गर्न सकिन्छ, गरिनुपर्छ ।

४. अख्तियार सम्बन्धी विधेयक राज्यव्यवस्था समितिले उपसमिति मार्फत करिब टुंगोमा पुऱ्याएको थियो, यसलाई निर्देशित रूपमा 'होल्ड ' गराउने कार्य आलोच्य भएको छ र यो अनुचित छ ।

५. त्रिविविका उपकुलपतिले पदत्याग गर्नुपर्ने अवस्था आउनु र फेरि पनि त्रिविविमा बेथितिले प्रश्रय पाउनु जुनकुनै कोणबाट पनि गलत भएको छ ।

६. रास्ट्र बैंकको गभर्नर नियुक्तिको विषयसँग गाँसिएर अनेकथरि प्रश्न उठिसक्दा नियुक्तिमा अझै अलमल जारी रहनु दुःखद छ । मौद्रिक नीतिको नेतृत्व गर्ने, समग्र बैंकिङ क्षेत्रको नियामक संस्थाको नेतृत्व चयनमा संवेदनशील अग्रसरता नदेखिनु सरकारको सक्षमतामाथिकै प्रश्न हो ।

७. नेपाल प्रहरीको एआईजी पदमा ६ वटा दरबन्दी रिक्त भएको महिना दिन पुग्न लाग्दा समेत नियुक्तिमा अलमल छ, सरकारले यस्तो विलम्बबाट प्रशंसा हासिल गर्न सक्दैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.