आनन्दी सदायको यौन दुर्व्यवहार र मृत्यु घटनाको सूक्ष्म छानबिन गर्न गृहमन्त्रीको निर्देशन

वैशाख ३, २०८२ |विनय आजाद
आनन्दी सदायको यौन दुर्व्यवहार र मृत्यु घटनाको सूक्ष्म छानबिन गर्न गृहमन्त्रीको निर्देशन

सिरहा । सिरहाको नवराजपुर गाउँपालिका-३ दोनवारी टोलकी २४ वर्षीया आनन्दी देवी सदायको यौन दुर्व्यवहार र मृत्यु घटनाको सूक्ष्म अनुसन्धान गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिनुभएकाे छ। गृहमन्त्री लेखकले नेपाल प्रहरीलाई घटनाको अनुसन्धान गर्न निर्देशन दिनुभएकाे हाे ।

गृहमन्त्रीको सचिवालयका अनुसार, लेखकले बुधबार बिहान नेपाल प्रहरीका आइजीपी दीपक थापालाई यस विषयमा जिज्ञासा राख्दै फोन गर्नुभएको थियो । सो क्रममा उहाँले घटना सत्यतथ्य पत्ता लगाएर दोषीलाई कानुनी दायरामा ल्याउन निर्देशन दिनुभयाे ।

आनन्दी मंगलबार दिउँसो ३ बजे आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । त्यसअघि पुष ९ मा उनीमाथि गाउँकै २२ वर्षीय सञ्जीवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवले सामूहिक बलात्कारको प्रयास गरेका थिए ।

तर, पीडितले सोही दिन इलाका प्रहरी कार्यालय, महेशपुर पतारमा जाहेरी दिएपनि प्रहरीले उनीहरूमाथि कानुनी कारबाही प्रक्रिया अगाडी बढाउनुको साटो उल्टै मिलिहाल्न दबाब दिँदै आएको थियो ।

प्रहरीले सुनुवाई नगर्दा पीडित परिवार मिडियामा जाने तयारी गरेपछि अढाई महिनापछि फागुन २५ मा बल्ल उनको जाहेरी दर्ता भएको थियो । तर, मुद्दा दर्ता भएपनि आरोपितलाई पक्राउ गर्न प्रहरीले आनाकानी गर्दै आएको थियो ।

याे पनि :

यौन दुर्व्यवहारमा परेकी दलित महिला आफ्नै घरमा मृत फेला


Image

विनय आजाद

आजाद कान्तिपुर टेलिभिजन सिरहाका संवाददाता हुन् ।