आईसीसी यू-१९ विश्वकप एसिया छनोट : नेपाललाई लगातार तेस्रो जित, हङकङ ९ विकेटले पराजित

वैशाख ३, २०८२ |खेल ब्युरो
आईसीसी यू-१९ विश्वकप एसिया छनोट : नेपाललाई लगातार तेस्रो जित, हङकङ ९ विकेटले पराजित

काठमाडौं । आईसीसी यू-१९ विश्वकप एसिया छनोटमा नेपालले हङकङलाई ९ विकेटले हराएको छ । माथिल्लो मूलापानी क्रिकेट मैदानमा आज दिउँसो भएको खेलमा नेपालले १ सय १६ रनको लक्ष्य १२ ओभर ३ बलमा पूरा गरेर लगातार तेस्रो जीत हाासिल गरेको हो ।

टस जितेर नेपालले पहिले फिल्डिङ रोजेपछि सुरुमा ब्याटिङ गरेको हङकङ ४६ ओभर २ बलमा १ सय १५ रनमा अल आउट भएको थियो । हङकङका ओपनर आर्य पन्जावनीले १३ रन बनाए पनि जुड लि थोमस शून्यमा आउट भए । 

तर, तेस्रो नम्बरका शिव माथूरले लामो इनिङ खेल्दै १ सय १६ बलमा ६३ रनको योगदान गरेका थिए । उनले ४ चौका र १ छक्का प्रहार गरे । तर, माथुरले कुनै खेलाडीको साथ पाउन नसक्दा हङकङले १ सय १५ रन मात्रै बाउन सक्यो । 

हङकङविरुद्ध बलिङमा नेपालका युवराज खत्रीले ४ विकेट लिए । युवराजले १० ओभरमा १८ रन मात्रै खर्चिए । उनले हङकङका कुनै जोडीलाई साझेदारी गर्न दिएनन् । त्यसैगरी, विपिनप्रसाद शर्माले ३ विकेट आफ्नो नाममा गरे । 

जवाफमा नेपालले सहजै लक्ष्य पूरा गर्‍यो । ओपनर साहिल पटेलले अविजित रहँदै ४१ बलमा ४२ रनको आक्रामक इनिङ खेले । निरजकुमार यादवले २३ रन जोडे ।  ओपनिङमा यी दुई खेलाडीले ५५ रनको साझेदारी गरेका थिए । तेस्रो नम्बरका नरेन भट्टले ३९ रन बनाएपछि नेपाल १३औं ओभरमै लक्ष्यसम्म पुगेको हो । 

हङकङका शयन पुरीले मात्रै एक विकेट लिन सके । अब नेपाल विश्वकपमा पुग्नबाट एक जीत मात्रै टाढा छ । आउँदो शनिबार हुने खेलमा नेपालले अफगानिस्तानलाई हराउन सके नेपाल लगातार दोस्रो पटक आईसीसी पुरुष यू-१९ विश्वकपको लागि छनोट हुनेछ ।