कांग्रेस र एमालेका शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दै

वैशाख ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
कांग्रेस र एमालेका शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दै

काठमाडौं । सरकारलाई सघाउन गठित नेपाली कांग्रेस र नेकपा एमालेका प्रमुख नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बैठक बस्न लागेको हो । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको १० सदस्यीय उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सरकारी नियुक्ति, प्रहरी बढुवा र सरकारका कामकारबाहीका विषयमा छलफल हुने बालुवाटार स्रोतले जनाएको छ । 

सरकारले कामको गति बढाउन नसकेको र अलमलमा परेको भन्दै संयन्त्रमै रहेका नेताहरुले असन्तुष्टि जनाइरहेका छन् । विशेषगरी नेपाली कांग्रेसका महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा तथा नेता शेखर कोइरालाले सरकारले काम गर्न नसकेको भन्दै आलोचना गर्दै आएका छन् । 

 सत्तारुढ दलकै नेताहरुले सरकारको आलोचना गर्दा राम्रो सन्देश नजाने भएकाले यस विषयमा पनि संयन्त्रको बैठकमा छलफल हुने बताइएको छ ।

उच्चस्तरीय राजनीतिक संयन्त्रमा एमालेबाट प्रधानमन्त्री ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्ण पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल छन् । त्यस्तै, कांग्रेसबाट सभापति देउवासहित उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु देउवा छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.