बिनादर्ता सञ्चालित 'एभियोट्रेस नेपाल स्कुल अफ टेक्नोलोजी' विरुद्धको रिटमा कारण देखाउ आदेश

वैशाख २, २०८२ |किरण पौडेल
बिनादर्ता सञ्चालित 'एभियोट्रेस नेपाल स्कुल अफ टेक्नोलोजी' विरुद्धको रिटमा कारण देखाउ आदेश

काठमाडौं । सात वर्षदेखि बिनादर्ता सञ्चालनमा रहेको 'एभियोट्रेस नेपाल स्कुल अफ टेक्नोलोजी' विरुद्धको रिटमा पाटन उच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

उच्च अदालतका न्यायधीश कृष्णराम कोइरालाको इजलासले रिटमाथिको पहिलो सुनुवाइ गर्दै एभियोट्रेस नेपाल स्कुल अफ टेक्नोलोजीसहितका विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो । अदालतले अन्तरिम आदेशका लागि छलफलमा बोलाउने आदेशसमेत गरेको छ । आयुश बडाल, सुजन बास्तोला र दीक्षित पोखरेल लगायतले गत आइतबार ‘एभियोट्रेस नेपाल स्कुल अफ टेक्नोलोजी’ विरुद्ध परमादेशको मागसहित रिट दर्ता गराएका दिए ।

एभियोट्रेसले उड्डयनसम्बन्धी सबै खालका कोर्स पढाइ हुने भनी प्रचार गर्दै गैरकानुनी रूपमा बिनादर्ता सञ्चालनमा रहेको समाचार गत फागुन २२ मा कान्तिपुर टेलिभिजनले प्रसारण गरेको थियो । समाचार प्रसारणपछि फागुन २८ गते काठमाडौं महानगरले कलेजमा अनुगमन समेत गरेको थियो । 

त्यस क्रममा उक्त संस्थाले सरकारी निकायमा दर्ता भएका कुनै पनि कागजात पेश गर्न नसकेपछि महानगरले भर्ना तथा प्रशासनिक लगायतका कार्य नगर्न निर्देशन दिएको थियो । तर कलेजले वैशाख ३ गतेदेखि कलेज सञ्चालनको सूचना निकालेको थियो । रिटमा नागरिक उड्डयन प्राधिकरण, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा काठमाडौं महानगरपालिकासँग समेत जवाफ माग गरिएको छ ।


Image

किरण पौडेल

पौडेल कान्तिपुर टेलिभिनजमा कार्यरत छन् ।