बालिका अपहरण गरी बन्धक बनाएको आरोपमा २ जना पक्राउ

फाल्गुन १७, २०८१ |विनोद घिमिरे
बालिका अपहरण गरी बन्धक बनाएको आरोपमा २ जना पक्राउ

धनकुटा । अपहरण गरी बन्धक बनाइएका २ जना बालिकाको ३ दिनपछि उद्धार भएको छ । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले मोरङ उर्लाबारीका १४-१४ वर्षीया दुई बालिकाको आज उद्धार गरेको हो ।

बालिका बन्धक बनाएको आरोपमा चौबिसे गाउँपालिका-३ का १९ वर्षीय शनिस याख्खा र मोरङको उर्लाबारी-५ सूर्य चोकका १९ वर्षकै प्रतीक विकलाई प्रहरीले पक्राउ समेत गरेको छ । बालिकालाई अपहरण गरी बन्धक बनाएको सूचना पाएपछि शनिबार बिहान मुढेवास प्रहरी चौकीबाट गएको प्रहरीले खाख्खा र विकलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जना कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई फरार सूचीमा रहेको धनकुटा प्रहरीका प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिनुभयो । २०८१ जेठ ९ गते जिल्ला अदालत मोरङले कर्तव्य ज्यान मुद्दामा शनिस खाख्खालाई ८ वर्ष ६ दिन तथा प्रतीक विकलाई ६ वर्ष २ महिना ६ दिन कैद हुने फैसला सुनाएको थियो ।

उद्धार गरिएका बालिकाको प्रहरीको संरक्षणमा स्वास्थ्य परीक्षण र उपचार भइरहेको छ । याख्खा र विक दुवैलाई अपहरण, शरीर बन्धक र जबरर्जस्ती करणीको कसुरमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिनुभयो ।


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement