कान्तिपुर टेलिभिजनको कार्यालयमा शुक्रबार साँझ ९ जना युवकहरु आइपुग्छन् । उमेरले १९-२० वर्षका यी युवकहरुलाई बोलाएका थिए, पत्रकार किरण पौडेलले ।
टाउको पूरै ढाकिने हुडी लगाएका, सर्ट र जिन्समा रहेकाहरुले क्यापले आधा अनुहार छोपेका, कालो चश्मा र मास्कलगाएका यी विद्यार्थीहरुलाई केही कुरा बुझ्न र टेलिभिजनमा उनीहरुकै अनुभव सुनाउन बोलाइएको थियो । सहजै आउन तयार भएका उनीहरुलाई यही कोठामा स्वागत गरियो । किरणले क्यामरा, लाइट र माइक तयार गरेर जब आफ्नो अनुहार देखिने गरी क्याप, चश्मा र मास्क खोल्न अनुरोध गरे, विद्यार्थीहरुले मानेनन् । उनीहरुलाई आफ्नो कुरा सुनाउनु थियो, तर अनुहार देखाउनु थिएन । टेलिभिजनमा देखाउँदा परिचय नखोल्ने, अनुहार पनि नदेखाउने प्रतिबद्धता बारम्बार जनाउँदा पनि उनीहरु मास्क चश्मा खोल्न तयार भएनन् । खासमा परस्पर संवादका लागि पनि अनुहार हेरेर कुरा गर्नु उपयुक्त हुन्छ, क्यामरामा रेकर्ड गरिए पनि प्रसारणमा सबै ढाक्ने हाम्रो कुरामा उनीहरुले विश्वास गरेनन् । अन्तत: विषयको संवेदनशीलतालाई समेत ध्यानमा राखेर हामीले क्यामरा बन्द गर्यौं । र अफ दि रेकर्ड कुरा गर्ने भनेपछि उनीहरुले क्रमैसँग आफ्नो अनुहार खोले । तनाव, थकान र असुरक्षा स्पष्ट देखिने उनीहरुको अनुहार हेर्दै उनीहरुले सुनाएको कथा हामीले सुन्यौं ।
नमस्कार । आउनुस् आज तिनै विद्यार्थीले एकघण्टा लगाएर सुनाएको कथा म तपाईँलाई सुनाउँछु । ती विद्यार्थीका अनुसार यो कथाका घटना र पात्र काल्पनिक होइनन् । बरु तिनै घटना र पात्रका कारण उनीहरुले असुरक्षाको महसुस गरेका थिए र आफ्नो पहिचान लुकाउन खोजेका थिए ।
कथा सुरु हुन्छ गत फागुन चार गते ।
अंग्रेजी मिति फरबरी १६ ।
आइतबार ।
समय अपरान्ह साढे चार बजे आसपास ।
विश्वविद्यालयको महिला छात्रावासको एउटा कोठाको ढोका खोल्न बाहिरबाट होस्टल वार्डेनसहित केही विद्यार्थीले हरसम्भव प्रयास गर्छन् । ढोकामाथिको सिसा पनि फोडिन्छ । जसोतसो भित्र पसिन्छ, जहाँ २० वर्षकी विद्यार्थी सिलिङको पंखामा झुण्डिएको अवस्थामा भेटिन्छिन् । हतारहतार उनलाई त्यहाँबाट उतारिन्छ ।
विश्वविद्यालयको छात्रावासमा अर्को एउटा मृत्यु । अर्को एउटा मृत्यु भन्नुको अर्थ के ? हामीलाई यो कथा सुनाउने विद्यार्थीहरुका अनुसार छात्रावासमा यस्तो भइरहन्छ । यसरी मृत्युका घटना यसअघि पनि पटक-पटक भएका छन् । ४ वर्षमा ९-१० जना त नेपालीले सुसाईड गरिसकेका छन्, एकजनाले सुनाए ।
हजारौं विद्यार्थी पढ्ने विश्वविद्यालयमा हुने यस्ता मृत्युका घटनाहरुलाई एकाध घण्टामै राफसाफ गरिन्छ । परिवार बोलाइन्छ, जिम्मा लगाइन्छ । कोठा सफा गरिन्छ । अर्को दिन कोठामा अर्को कुनै विद्यार्थीको बास सुरु भइहाल्छ । आइतबार पनि त्यस्तै हुँदै थियो । घटना ठूलो भयो भने केही साता होस्टेल सिल गरिन्छ , अनि सञ्चालनमा आईहाल्छ ।
यो घटनामा पनि ६ बजिसक्दा नसक्दै कोठा सफा गरिसकियो, बाहिरबाट ढोका खोल्दा फुटेका सिसा र अरु टुक्राटाक्री सब हटाइसकिएको थियो । र सामान्य ताला लगाएर कोठा बन्द गरिएको थियो । घटनास्थलमा भेटिएको शव अस्पताल पठाइसकिएको थियो । त्यतिन्जेल त्यहाँ प्रहरी आइसकेको थिएन । घटना के थियो ? झट्ट सुन्दा त्यो आत्महत्याको घटना थियो । तर विद्यार्थीहरुलाई भने अन्यथा शंका पनि छ ।
१५ सयभन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत भारतको ओडिसास्थित यो केआइआइटी विश्वविद्यालयमा गाईँगुइँ सुरु भयो । एक कान दुई कान मैदान हुँदै विश्वविद्यालयभरि यो खबर फैलियो । मृतक थिइन् नेपाली विद्यार्थी प्रकृति लम्साल ।
म फेरि भनौं कि यो कथा हामीलाई तिनै विद्यार्थीले यही कोठामा बसेर सुनाएका हुन् । संक्षेपमा सुनाउने प्रयास गर्दैछु ।
अब यो घटनाको जाँच कसरी हुन्छ ? विद्यार्थीमा कौतुहल छायो । त्यही साँझ विश्वविद्यालयमा सांगीतिक कार्यक्रम चल्छ । त्यो पूर्वनिर्धारित कार्यक्रम चलिरहेका बेला नेपाली विद्यार्थीहरुले सोधीखोजी गर्छन् र थाहा पाउँछन् कि प्रकृतिको कोठाबाट होस्टल वार्डेनले प्रकृतिको मोबाइल र ल्यापटप पनि लिएका थिए । डायरीभित्र एउटा कागज पनि भेटिएको थियो जसमा सुसाइड नोट थियो । थप सोधखोज गर्दा ती सबै सामग्री प्रहरीलाई हस्तान्तरण गरिसकिएको भन्ने सुनिन्छ । तर प्रहरीबाट विद्यार्थीहरुले सुन्छन् कि त्यस्ता कुनै सामग्री प्रहरीको हात लागेको छैन । हो, यहीँबाट तनाव सुरु हुन्छ । विश्वविद्यालय हाताभन्दा ठिक बाहिर राति १ बजेतिर विद्यार्थीहरुले नारा लगाउन थाल्छन् । We want justice. We want Justice. प्रकृतिको मृत्युको घटनाको सत्यतथ्य लुकाइन्छ भन्ने शंका नेपाली विद्यार्थीलाई हुन्छ । प्रकृति बी टेक तेस्रो वर्षमा अध्ययनरत थिइन् । केही समयअघिसम्म एक पुरुष विद्यार्थीसँग उनको प्रेम सम्बन्ध थियो । तर त्यो टुटिसकेको थियो । तर ती पुरुष विद्यार्थीले बारम्बार प्रकृतिलाई दुर्व्यवहार गर्ने क्रम रोकिएको थिएन । प्रकृतिका साथीहरुले सुनाए कि उनले यसबारे विश्वविद्यालयको अन्तर्राष्ट्रिय विद्यार्थी हेर्ने विभागमा ४ पटकसम्म उजुरी गरेकी थिइन् तर यसबारे विभागले कुनै सुनुवाइ गरेको थिएन । यो पृष्ठभूमिका कारण पनि घटनामा शंकाको आगो थप्छ । रातको १ बजे विश्वविद्यालयको गेटबाहिर प्रदर्शन गरिरहेका थिए विद्यार्थी । २ बजेतिर विश्वविद्यालयका उपकुलपति विद्यार्थीले प्रदर्शन गरिरहेको स्थानमा आउँछन् । अडिटोरियममा गएर कुरा गरौं भन्छन् । विद्यार्थीहरुले मान्छन् र भित्र जान्छन् । विद्यार्थीहरुले अब विस्तार लगाउँछन् आफूलाई लागेका शंकाहरु ।
एक जना कुनै विद्यार्थीले त्यहीँ प्रश्न गर्छन् – प्रहरीले प्रकृतिको कोठा किन सिल गरेन ? प्रकृतिको कोठामा रहेको मोबाइल र ल्यापटप कहाँ छ ? आधा घण्टासम्म त्यहाँ बहस चल्छ । होस्टल वार्डेनले प्रहरीलाई देखाउने, प्रहरीले आनाकानी गर्ने क्रम चल्दाचल्दै केही विद्यार्थीलाई साथ लिएर प्रहरी प्रकृतिको कोठामा पुग्दा कोठामा लगाइएको तालामा सिल लगाएको भेटिन्छ । तर अझै पनि खुल्दैन, मोबाइल र ल्यापटप कहाँ छन् ? प्रहरी आफूलाई ती सामग्री प्राप्त नभएको बताउँछ भने होस्टल वार्डेन आफूले प्रहरीलाई बुझाएको बताउँछ । शंका थप बढ्छ । तनाव त त्यसपछि बढ्छ जब प्रहरीले प्रकृतिको कोठा हेर्न साथ गएका ३-४ जना विद्यार्थीहरुलाई अडिटोरियममा फिर्ता आउनै दिदैँन । अनि अडिटोरियममा भएका विद्यार्थीलाई प्रमाणहरु मासिएको भन्ने लाग्छ । विश्वविद्यालय प्रशासनले घटना दबाउन खोजेको र प्रहरीको समेत मिलेमतो भएको आशंका बढ्छ । विद्यार्थीहरुको आक्रोश थप झन् बढ्छ, आक्रोशित विद्यार्थीहरुले अब नाराबाजी जारी राख्ने भए । थामथुम पार्न पुगेका उपकुलपतिले सामान्य घटनालाई ठूलो नबनाउन आग्रह गर्छन् । तर विद्यार्थीको मृत्युको घटनालाई सामान्य घटनाको रुपमा उपकुलपतिले गरेको व्याख्या विद्यार्थीहरुलाई पटक्कै चित्त बुझ्दैन । नाराबाजी रोकिँदैन, झन् बढ्छ ।
बिहान करिब साढे पाँच बजेको समय : विश्वविद्यालयका संस्थापक अच्युत सामन्तको प्रवेश हुन्छ । सामान्यतया विद्यार्थीले देख्न समेत नपाउने तर सम्मानित व्यक्तित्व भएका उनले विद्यार्थीलाई सम्झाउन खोज्छन् तर स्थिति आफ्नो पक्षमा नआउने देखिएपछि उनी त्यहाँबाट निस्कन्छन् ।
त्यहाँबाट माहोल थप बिग्रिन्छ ।
बिहानको ६-७ बजिसकेको थियो । नाराबाजी गरिरहेका विद्यार्थीहरु अब के गर्ने भन्ने अन्योलमा रहेकै बेला अर्को गाईँगुइँ सुरु भयो । छात्राबासका कोठाहरुमा रहेका विद्यार्थीहरुलाई धमाधम निकाल्न थालियो र यसरी निकालिने अरु कोही नभएर नेपाली विद्यार्थीहरु थिए । विद्यार्थीका कोठा कोठामा बाहिरबाट बोलाइएका मानिस देखिन्छन् । कसैले हातमा लाठी बोकेका छन्, कोही देख्दै बाउन्सरजस्ता छन् । २०-२१ वर्षका विद्यार्थीलाई कुटपिट गर्दै उनीहरुले होस्टेलबाट निकाल्छन् । हामीलाई एक जना विद्यार्थीले सुनाए अनुसार विश्वविद्यालयका कर्मचारीसहित आएका खेलाडीजस्ता देखिने ठूल्ठूला केटाहरुले उनी बसेको छात्राबासका उनीसहित १२ विद्यार्थीलाई एउटै सोफामा घोप्टो पारेर लौरोले बजाउनसम्म बजाए । त्यतिले नपुगेर उनको र अरु साथीहरुको मोबाइल टुक्राटुक्रा पारेर फुटाइदिए ।
उनलाई पढाउने फ्याकल्टी चुपचार हेरिरहे ।
अर्का एक विद्यार्थीले सुनाए – किङ्ग्स प्यालेस भनिने पुरुष विद्यार्थी बस्ने एउटा छात्रावास भवनमा पसेका केही मानिसले किचेनको चक्कू उठाए र बाहिर ननिस्किए मारिदिने धम्की दिँदै विद्यार्थीलाई निकाले । उता महिला छात्राबास भवनमा पनि त्यस्तै क्रम सुरु भयो । छात्राहरु त कुटिएनन् तर चरम दुर्व्यवहार भयो । त्यहाँ महिला कर्मचारीहरुले के के भने भन्ने कुरा त सामाजिक संजालमा भाइरल नै छ ।
बिहानसम्ममा त्यस्तो कुटपिट विश्वविद्यालय हाताभन्दा बाहिर पनि भयो जहाँ प्रहरी रमिते बनिरह्यो । यसरी कुटपिटमा संलग्नहरु को थिए ? विद्यार्थीहरु भन्छन्-हिजोसम्म हामीलाई पढाइरहेको जो फ्याकल्टी थियो उसले पनि कुट्यो । हाम्रै सुरक्षाका लागि बसेका सेक्युरिटी गार्डले कुटे । होस्टल वार्डेनले कुटे । उनीहरुलाई सघाउन बाहिरबाट हुलका हुल मानिसहरु आएका थिए ।
त्यही क्रममा विश्वविद्यालय प्रशासनले सबै नेपाली विद्यार्थीलाई निस्काशन गरेको सूचना प्रकाशित गरियो । कोठाकोठाबाट निकालिएका विद्यार्थीहरुलाई बसबसमा हुल्दै कतिलाई रेलस्टेसनतिर पठाइयो कतिलाई बस स्ट्यान्डतिर ।
खल्तीमा भएको मोबाइल निकालेर भिडियो खिच्ने विद्यार्थीलाई विश्वविद्यालयका उपल्लो ओहदाका कर्मचारीले हिन्दी भाषामा धम्क्याएको सुनिन्छ-भिडियो बनाउँछस् ? बना बना । १ महिनापछि तँलाई म देखाउँछु ।
अर्का एक विद्यार्थीलाई त 'तँ परीक्षा दिन आउने बेला म देखाउँछु' भनेर धम्क्याएछन् ।
अर्कोलाई, 'पख्लास् तैँले डिग्री लिएको दिन पर्खेलास्' भनेर धम्क्याइएछ । यस्तो भिडियो निकै कमले लुकाउन भ्याए । कर्मचारी र तिनका लठैतले विद्यार्थीका मोबाइल खोस्दै कतिको फुटाए भने कतिको त फ्याक्ट्री रिसेट गरेर पनि भिडियोहरु उडाउने काम गरे ।
डराएका र तर्सिएका, कुटाइ खाएर आलसतालस भएका नेपाली विद्यार्थीहरु कति रेल स्टेशनमा अलपत्र परे भने कति बस स्ट्यान्डमा। रातभरि प्रदर्शन गरेर थाकेकाहरु भोकै थिए । कतिको हातमा पैसा थिएन । कतिको झोला थिएन । बिजोगको स्थिति थियो । त्यहिँबाट केही विद्यार्थीले कलकत्तामा रहेको नेपाली दूतावासको कन्सुलर अफिसमा सम्पर्क गरे । तर त्यहाँबाट कुनै काम भएन ।
'कलकत्ताबाट ओडिसाको भुवनेश्वर पुग्न ट्रेनमा हो भने ६ घण्टा लाग्छ। प्लेनमा बढीमा एक घण्टा । तर हामी २४ घण्टा ट्रेन स्टेसनमा अलपत्र पर्यौं । हामीलाई कलकत्तामा कन्सुलर भएर के भयो ?' उनीहरु प्रश्न गर्छन् ।
एक जना विद्यार्थीले सुनाएको उपकथा यस्तो छ ।
केही विद्यार्थी मिलेर नेपाल फर्किन एउटा बस रिजर्भ गर्छन् । र ओडिसाबाट निस्किन्छन् । ओडिसाबाट करिब ८-९ सय किलोमिटर पर पटना पुगेपछि अचानक बस चालकको मोबाइलमा अपरिचित नम्बरबाट फोन आउँछ ।
फोनमा अर्कोपट्टिबाट कसैले चालकलाई भन्छ – तैंले बसमा लिएर हिँडेका केटाहरु हाम्रो विश्वविद्यालयमा मारपिट गरेर भागेकाहरु हुन् । तिनीहरुलाई त्यहाँबाट सरक्क घुमाएर यहाँ ल्याइपुर्याउनु । नत्र तेरो खैरियत छैन । धन्न ती चालकले त्यतिन्जेल घटनाक्रम बुझिसकेका थिए र नेपाल ल्याइपुर्याइदिए । यदि उनले साँच्चै बस घुमाएको भए के हुन्थ्यो ? हामीलाई थाहा छैन ।
यो सबै कसरी भयो त ? नेपाली विद्यार्थीमाथि कसले कुटपिट गरायो ?
ती विद्यार्थी भन्छन्, हामीलाई जुन प्रकारको व्यवहार भयो त्यो विश्वविद्यालयका कर्मचारी तहको काम मात्र होइन।
विश्वविद्यालयबाट तपाईँहरुलाई निष्कासन गर्ने निर्णय कसले गर्यो ?
'त्यो रजिस्ट्रारको निर्णय हो । सायद त्यसभन्दा माथिको समेत आदेश हो । एकजनाको इच्छाले यति ठूलो निर्णय भएको हुनै सक्दैन ।'
कुटपिटको आदेश पनि कसैले दिएको हुन सक्छ ?
यस्तो आदेश रजिस्ट्रारले नै दिएका हुन् । 'पख्लास्, देख्लास् भन्नेजस्ता धम्की दिने पनि उनै हुन् । हामीसँग भिडियो पनि छ । यहाँ भन्न नमिल्ने गाली हामीले कति सुन्यौं सुन्यौं', उनीहरु भन्छन् ।
अनि यी सबै भिडियोहरु ओडिसाको प्रहरी प्रशासनसम्म किन पुगेन ?
विद्यार्थी भन्छन्-कसरी पुग्छ ? कलेजभरि सिसिक्यामरा छ । त्यसका सबै भिडियो मेटिएका छन् । विद्यार्थीहरुको मोबाइल धेरैको बिगारिएको छ । फ्याक्ट्री रिसेट गरेर डाटा उडाइदिने काम भएको छ ।
एक विद्यार्थीले सुनाए – मसँग त नेपाल फर्किने पैसा पनि भएन । मोबाइल वालेट सबै उडाइदिए । कसैलाई फोन गर्न नम्बरसमेत भएन ।
अनि सामाजिक संजालमा आएका भिडियोहरु नि ?
कलेजबाहिरका दिदीहरुले खिचेका एक-दुई वटा आएका छन् । केही विद्यार्थीले साथीहरुलाई पठाउन भ्याइहाले । त्यसकारण त नेपालसम्म यो कुरा थाहा भयो ।
यो हदसम्मको दमन नेपाली विद्यार्थीमाथि किन भयो होला ?
भन्छन्, नेपाली विद्यार्थीहरु सधैं हेपिएरै बसेका छन् । हामीमाथि सधैं अत्याचार भयो ।
हामीलाई यसरी कथा सुनाइरहेका विद्यार्थीहरुलाई थाहा छ, नेपालका प्रधानमन्त्रीले ट्वीट गरेपछि र नेपाली दूतावासले सक्रियता बढाएपछि विश्वविद्यालयले माफी मागेको छ । उपकुलपति र विश्वविद्यालयका संस्थापकले माफी मागेका छन् । माफी मागेका भिडियो पनि आएका छन् । नेपाली विद्यार्थीलाई फर्किन विश्वविद्यालयले आह्वान गरेको, फरबरीको अन्तिमका लागि तय भएको परीक्षा पनि नेपाली विद्यार्थीकै लागि भनेर पछि सारिएको छ । उनीहरुलाई प्रकृति लम्सालको मृत्यु र त्यसपछिको घटनाक्रम छानविन गर्न ओडिसाको संसद्मा आवाज उठेपछि उच्चस्तरीय छानबिन समिति बनेको पनि थाहा छ । नेपाली दूतावासका दुईजना प्रतिनिधि विश्वविद्यालयमै बसेर सहजीकरण गरिरहेको बारे पनि उनीहरु जानकार छन् । तर नेपाली विद्यार्थी विश्वविद्यालय फर्किसकेको र समस्या समाधान भइसकेको नेपालका परराष्ट्र मन्त्रीको कुरा उनीहरुले पत्याएका छैनन् । हो, नेपाल फर्किन नसकेकाहरु विश्वविद्यालय गएका छन् । तर सबै गएका छैनन् । निकै थोरै संख्यामा मात्र गएका छन् । हामीलाई ढाडस दिन हाम्रो सरकारले स्थिति सामान्य हुँदै छ भन्नु राम्रै कुरा होला तर स्थिति सामान्य भएको छैन ।
करिब ४ सय नेपाली विद्यार्थी नेपाल फर्किएका छन् । अरु केही बाटोमा छन् ।
अब भारत फर्किने कि नफर्किने ?
उनीहरुलाई अन्योलभन्दा डर बढी छ । किनभने पढाइ पूरा गर्न ओडिसा फर्किनु नै उनीहरुका लागि सबभन्दा उपयुक्त विकल्प हो । तर उनीहरुलाई रजिस्ट्रारसहित आफ्नै फ्याकल्टी र कर्मचारीहरुले दिएको धम्कीले तर्साइरहेको छ । फेरि फर्किएर उनीहरुकै अन्डरमा पढाइ गर्न र बस्न सकिएला र ? केही विद्यार्थी हातखुट्टा र शरिरमा लागेको चोटको दुखाइ सुम्सुम्याउँदै तर्सिन्छन् । कोही साथीले आफ्नै अगाडि मरणासन्न हुने गरी कुटाइ खाएको सम्झिँदै तर्सिरहेका छन् । विश्वविद्यालयले केही सुरक्षा गार्डलाई निष्कासन गरेको छ । केही कर्मचारीलाई निलम्बन गरेको छ ।
एक जना विद्यार्थीले मलाई प्रश्न गरे – तपाईँले क्यामरा बन्द गर्नु भन्नुभयो । दाइहरुले बन्द गर्नुभयो । केही बेरमा क्यामरामा हाम्रो अनुहार रेकर्ड भएको रहेछ भनेर तपाईँले हाम्रो अनुहार टिभीमा देखाइदिनुभयो भने क्यामरामेनलाई कारबाही गरेर पुग्छ कि तपाईँलाई पनि कारबाही गर्नुपर्छ ?
हामीलाई यो सबै कुरा सुनाउने नेपाली विद्यार्थी भन्छन् – हामीलाई कुटीकुटी लखेटेर नेपाल धपाउने, अनि सरक्क माफी मागेर फर्किउ भन्दैमा हामी कसरी फर्किने ? हाम्रो आत्मसम्मानको कुरा कसले गर्ने ? जसले हामीमाथि ज्यादती गरे, उनैले सूचना छापेर हाम्रो सुरक्षाको ग्यारेन्टी कसरी गर्न सक्छन् ?
म चुप हुन्छु ।
हाम्रो सरकारले विद्यार्थीको सुरक्षाको प्रबन्ध मिलाउनू भन्नु सही हो । राम्रो हो । विश्वविद्यालय प्रशासनले पनि हामीलाई बोलाइरहेको छ । तर हामी कसरी ढुक्क हुने ? जसले हामीलाई कुटेको छ, ऊ त त्यहाँ छाती फुलाएरै बसेको छ ।
यसै पनि त्यो परदेश हो । विश्वविद्यालयले आफूले बोलेर मात्र पुग्दैन । लेखेरै दिए पनि हामीलाई चित्त बुझ्ने छैन । त्यस्तो कुनै कानुनी रुपमै ग्यारेन्टी गरिनुपर्छ कि हामी सुरक्षित हुनेछौं भनेर । तर हामीलाई थाहा छैन त्यो प्रबन्ध कसरी गर्ने, हामी त विद्यार्थी हौं । नेपालको सरकारलाई यसबारे थाहा होला । भारतको सरकारलाई यसबारे थाहा होला ।
आइतबार मृत्यु भएकी प्रकृतिको मृत्युको कारण के हो ? प्रहरीले अहिले अनुसन्धान गरिरहेको छ । त्यो अनुसन्धान निष्पक्ष हुनुपर्छ । प्रकृतिको परिवारलाई पनि विश्वविद्यालयले केही आश्वासनहरु दिएको छ । नेपाल फर्किएका यी विद्यार्थीहरुको बटमलाइन प्रकृति र उनको परिवारले पाउनुपर्ने न्याय नै हो । विकसित घटनाक्रमले मूल मुद्दा नै ओझेलमा परेकोमा पनि नेपाली विद्यार्थी चिन्तित छन् । यसपछि विश्वविद्यालयमा अर्को कुनै विद्यार्थी मृत्युको शिकार हुनु नपरोस्, यसतर्फ पनि सचेत हुनुपर्ने उनीहरुको आवाज छ । तर सँगसँगै आफू पढिरहेकै विश्वविद्यालयमा भएको यत्रो ज्यादतीपछि कसरी उनीहरु निश्चिन्त भएर विश्वविद्यालय फर्किन्छन् ? थाहा छैन ।
अन्त्यमा आशा गरौं, नेपाल सरकार र संसद् , ओडिसा सरकार र संसद् अनि सिंगो भारत सरकार र संसद्ले गम्भीरतापूर्वक लिएको यो घटनामा यी विद्यार्थीका सबै चासोको सम्बोधन हुनेछ, उनीहरुले न्याय पाउनेछन्, प्रकृतिले न्याय पाउने छिन् ।
यो पनि हेर्नुहोसः