काठमाडौं । संघीय संसद्को दुवै सदनबाट पारित पाँच विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गर्नुभएको छ । सरकारले अध्यादेशलाई प्रतिस्थापन गरी ल्याएका पाँच वटा विधेयक प्रमाणीकरण भएको हो ।
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले संघीय संसद्को दुवै सदनको बैठक अवरुद्ध गरेसँगै सरकारले अघि बढाएको विधेयक अल्झिएर बसेका थिए । सरकारले प्रतिनिधि सभाबाट अघि बढाएका विधेयक राष्ट्रिय सभामा अड्किएका थिए । आज राष्ट्रिय सभाबाट पारित भएका विधेयक सन्देश सहित प्रतिनिधि सभाबाट पारित भएसँगै राष्ट्रपतिले समेत प्रमाणीकरण गरेकाले यिनले अब कानुनको रूप लिएका छन् ।
सरकारले माघ १८ गते अध्यादेश मार्फत पाँच वटा विधेयक पेश गरेको थियो । सरकारले अध्यादेश मार्फत ल्याएका ६ वटामध्ये भूमि सम्बन्धी विधेयक बाहेक पाँच वटा प्रमाणीकरण भई कानुन बनेका हुन् ।
राष्ट्रपतिले प्रमाणीकरण गरेका पाँच विधेयकमा सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी विधेयक, सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी विधेयक, निजीकरण विधेयक र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी विधेयक रहेका छन् ।