काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार राजावादीको प्रदर्शनमा तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजकका परिवारलाई आज भेट्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले पत्रकार रजकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारमा समवेदना व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री ओलीले उक्त दुःखद् घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाही गर्ने प्रक्रिया सुरु भएको पनि बताउनुभयो ।
प्रधानमन्त्री ओलीले मृतकको दाहसंस्कार गर्न परिवारजनलाई आग्रह गर्दै सुरेशकी श्रीमती सुजन रजकलाई रोजगारी लगायत आवश्यक पर्ने अन्य व्यवस्थाका लागि सरकारले ध्यान दिने बताउनुभयो । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेको समन्वयमा भएको भेटमा सुरेशका दाइहरू रमेश रजक र दिनेश रजक लगायत सहभागी हुनुहुन्थ्यो ।