काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणमा एफसी चितवनले सुखद् सुरुआत गरेको छ । ओभरसिज खेलाडी नायक बन्दा चितवनले दशरथ रंगशालामा पोखरा थन्डर्सलाई २-० ले हराएको हो । तेस्रो संस्करणमा जित-हार भएको यो पहिलो खेल समेत हो । यसअघिका दुवै खेल बराबरीमा सकिएका थिए ।
यो खेलको सुरुमै विवाद भएपछि १७ मिनेट ढिलो सुरु भएको थियो । तर यसबारे आयोजकले आधिकारिक जानकारी भने अहिलेसम्म दिएको छैन । चितवनका खेलाडीको श्रम स्वीकृतिबारे प्रश्न उठाउँदै पोखराले खेलाडी मैदान उतार्न ढिलो गरेको बताइएको छ ।
खेलको छैटौं मिनेटमा पोखराका जो आइूडुको प्रहार चितवनका डिफेन्डरबाट डिफ्लेक्ट भएको थियो । खेलको १४ औं मिनेटमा चितवन अग्रता बनाउन सफल भयो । भिक्टर मानसेरेको क्रसलाई शिशिर लेखीले नोदिर माभ्लोनोभलाई प्रहारको लागि छोडिदिएका थिए । नोदिरले दोस्रो बारतर्फ गरेको प्रहार गोलकिपर प्रिसो एनजंगाको औंलामा लागेर पोस्टमा पुगेको थियो । नोदिरले डेब्यू खेलमै गोल गरेका हुन् ।
खेलको १८ औं र २१ ओं मिनेटमा पोखरा र चितवनले अट्याकिङ एरियामा फ्रिकिक पाए पनि विपक्षी टिमलाई कुनै खतरा भएन ।
मानसेरेले खेलको ३१ औं मिनेटमा मिलाइदिइको बललाई शिशिर लेखीले शक्तिशाली प्रहार गरेको भए पनि गोलकिपर प्रिसोले रक्षा गरेका थिए । यससँगै पहिलो हाफमा चितवन एक गोलले अघि रह्यो ।
दोस्रो हाफमा पोखराले स्टेफेन समिर विनोङ र गौरव श्रेष्ठलाई मैदान पठाउँदै ट्याक्टिकल चेन्ज गरेको थियो । आयुष घलानलाई प्रशिक्षक सुमन श्रेष्ठले अट्याकिङ क्षेत्रमा पठाएका थिए । तर त्यसले स्कोरमा भने प्रभाव पार्न सकेन । ५० औं मिनेटमा चितवनका टोरिक जेब्रिनको कर्नरमा मानसेरेको हेडर पोस्टको फ्रेममा पर्न सकेन । पोखराका आइडूको लङ रेन्जर सट पोस्टको माथिबाट बाहिरिँदा पोखराले यसपटकको अवसरमा पनि गोल गर्न सकेन । खेलमा आयुषले राम्रो क्रस निकाल्ने प्रयास गरेको भए पनि पोखराले अवसरलाई सदुपयोग गर्न नसकेको हो । ५७ औं मिनेटमा विनोङको हेडर समेत बाहिरिन पुग्यो ।
खेलको ६० औं मनेटमा पोखरा अर्को गोल बेहोर्नबाट बचेको थियो । छिरिङ गुरुङले फ्ल्याङ्कबाट दिएको पासलाई पोखराका डिफेन्डरले क्लियर गर्न नसक्दा अनमार्क रहेका भिक्टरले पोस्टअघिबाट गरेको प्रहार गोलकिपर प्रिसोले फिङ्गरटिप सेभ गरे ।
८६ औं मिनेटमा भिक्टरले ६ यार्ड बक्सभित्र ड्रप भएको बलमा गरेको प्रहार पोस्टमाथिबाट बाहिरिँदा चितवनले अग्रता दोब्बर बनाउने अवसर गुमायो । तर इन्ज्युरी समयमा निरज चौधरीले अवसर गुमाएनन् । सब्स्टिच्यूट खेलाडी चिनरले मानसारेको पासमा २५ यार्डबाट गोल गरेर खेललाई २-० मा समाप्त गरे । सुपर लिगमा पोखराविरुद्ध चितवनको यो पहिलो जित समेत हो । यससँगै चितवनले तीन अंकबाट लिग सुरु गरेको छ ।