प्रहरीको नियन्त्रणमा आइसकेका दुर्गा प्रसाईंलाई कसले उम्कायो ?

चैत्र १८, २०८१ |रमेश धमला
प्रहरीको नियन्त्रणमा आइसकेका दुर्गा प्रसाईंलाई कसले उम्कायो ?

काठमाडौं । शुक्रबार राजावादीहरुले गरेको हिंसात्मक आन्दोलनमा संलग्न रहेको आरोपमा ४१ जना पक्राउ परे । अदालतले अनुसन्धानका लागि थप ५ दिन हिरासतमा राख्न अनुमति पनि दिइसकेको छ । तोडफोड, आगजनी र लुटपाटमा संलग्नहरुको खोजी चलिरहेकै छ । तर, राजावादीहरुले आन्दोलनको कमाण्डर तोकेका, शुक्रबार भएको सबै हिंसाका मुख्य आरोपी दुर्गा प्रसाईं भने फरार छन् । प्रदर्शनका क्रममा सुरक्षाकर्मीमाथि गाडी चढाउनेसम्मको हर्कतमा उत्रिएका प्रसाईं लगत्तै प्रहरीकै नियन्त्रणमा थिए, तर उनलाई छोड्न कसले आदेश दियो ?

प्रसाईं कसरी उम्किए प्रश्न उठिरहेको छ, जुन विषयमा गृह मन्त्रालयले पनि प्रष्ट पार्न सकेको छैन ।

चैत १५ गते तिनकुनेमा शान्तिपूर्ण कार्यक्रमको अनुमति लिएका राजावादीहरुको प्रदर्शनमा तोडफोड र आगजनीमा मात्र होइन, त्यो आजगनीमा एक पत्रकारको ज्यानै गयो । निजी घरमा आजगनीदेखि लुटपाटसम्म हुँदा त्यसमा संलग्नहरु पक्राउ पर्ने क्रम चलिरहेकै छ । प्रदर्शनलाई हिंसात्मक बनाएको आरोपमा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल सम्सेर राणासहित ४१ जना प्रहरी हिरासतमा छन् । 

तर, सबैभन्दा बढी खोजीएका पात्र हुन्, राजनीतिक कार्यक्रमलाई हिंसात्मक बनाउने मुख्य आरोपी, दुर्गा प्रसाईं । सुरक्षाकर्मी माथि गाडी नै चढाउन खोजेका दुर्गालाई प्रहरीले सुरुमा नियन्त्रणमा लिएको थियो, तर उम्किए । कसरी ? यो बुझ्न थोरै पृष्ठभूमि र दुईवटा भिडियो हेर्नुपर्ने हुन्छ ।

साढे ११ बजे हुने भनिएको कार्यक्रमका लागि १२ बजेतिर सहभागीहरुको उपस्थिति बढिरहेको थियो । प्रदर्शनकारी निषेधित क्षेत्र तोडेर बानेश्वरको संसद भवनतिर जानसक्ने भएकाले सुरक्षाकर्मी घेरा लगाएर सडकमा तैनाथ थिए । केही प्रदर्शनकारी बेला-बेला नाराजुलुस गर्दै सुरक्षा घेरा तोड्न खोजिरहेका थिए । प्रहरीले तोकिएको स्थानमा गएर कार्यक्रम गर्न पटकपटक माइकिङ गर्दै आग्रह गरिरहेकै थियो । 

तर, मञ्चमा औपचारिक कार्यक्रम सुरु हुँदै गर्दा करिब २ बजेतिर बागमती प्रदेशको ०२७ च ३८४७ नम्बरको गाडी घेरामा बसेको सुरक्षाकर्मीमाथि चढाउने गरी आयो, जसमा सवार थिए आन्दोलनका कमाण्डर दुर्गा प्रसाईं । प्रसाईं आफैँले जबरजस्ती गाडी हाँक्दै कुदाएपछि सुरक्षाकर्मीले केही लाठी प्रहार गरे पनि रोक्न सकेनन् ।

गाडी तिनकुने पुल पारी पुगेर रोकियो । त्यहीबेला प्रहरीले प्रसाईंलाई नियन्त्रणमा लियो । २ बजेर २ मिनेटमा सुरक्षा घेरा तोडेका प्रसाईं पुलपारि नै पक्राउ परिसकेका थिए । उनलाई प्रहरीले पाखुरा समातेरै ल्यायो, जुन दृष्यमा प्रष्ट छ । प्रसाईंकै उत्तेजक व्यवहारपछि प्रदर्शनकारीले सुरक्षा घेरा तोड्न थाले । त्यसपछि सुरक्षाकर्मीले बल प्रयोग गर्न थाले र स्थिति तनावपूर्ण भयो । 

तर, प्रहरीको नियन्त्रणमा आइसकेका दुर्गा कसरी उम्किए ? यो प्रश्नको जवाफ अहिलेसम्म आएको छैन । तिनकुने क्षेत्रमा एसपीकै कमाण्डमा नेपाल प्रहरीको टोली र सशस्त्र प्रहरी बल परिचालन गरिएको थियो । यता,  उपत्यकाका सबै सुरक्षा प्रमुखहरु रहने प्रमुख जिल्ला अधिकारीसहितको कमाण्ड पोष्टबाट तिनकुने क्षेत्रको सबै गतिविधि निगरानी भइरहेकै थियो । 

दुर्गा प्रसाईंले गरेका सबै गतिविधि हेरिरहेका अधिकारीहरुले टियर ग्यास र हवाइ फायर गर्न आदेश दिए, तर दुर्गा प्रसाईंलाई कष्टडीमा लिन आदेश गरेनन् । उनीहरुलाई रोक्ने अरु कोही थियो कि थिएन ? छानविन र अनुसन्धानको पाटो यही हो । बल प्रयोग गरेर भीड तितरवितर पार्न सक्ने तर नियन्त्रणमा रहेका प्रसाईंलाई सँगै रहेको तिनकुने प्रहरी वृत्तमा लगेरसम्म राख्न नसक्ने आवस्था आउनुमा केही आशंका जन्मिएको छ ।

भीड नियन्त्रणमा रहेका प्रहरी अधिकृतहरुले प्रसाईं नियन्त्रणमा रहेको जानकारी गराए पनि कसको दबाब वा आदेशमा छोडियो ? गृह मन्त्रालयले समीक्षा गरिरहेको छ । घटनाको अर्को दिन शनिबार तिनकुने क्षेत्रको निरीक्षणका क्रममा गृहमन्त्री रमेश लेखकले नै प्रसाईं पक्राउ पर्ने दाबी गरे पनि खोजीमा जुटेको प्रहरी सफल भएको छैन, बरु प्रसाईंले सामाजिक सञ्जालमा भिडियो सन्देश सार्वजनिक गर्दै सुरक्षा निकायलाई गिज्याइरहेका छन् ।

पक्राउ पर्दा छोड्न आदेश दिने, अहिले खोज्न लगाउने दोहोरो भूमिका कस्को थियो भन्ने खुलाउनु पर्नेछ । त्यसो त प्रसाईंको खोजीमै रहेका प्रहरी अधिकृतहरु भने केही दिन भागे पनि उनीविरुद्ध राज्यविरुद्धको अपराध, संगठित अपराध र हत्या लगायतका गम्भीर अपराधमा मुद्दा चल्ने भएकाले उम्किएर जान नसक्ने बताउँछन् । अदालतमा मुद्दा दायर भएपछि इन्टरपोलमार्फत रेड नोटिस जारी गरेर भए पनि ल्याउन सकिनेछ ।

नेपालमा भएको सबै सम्पत्ति छोडेर विदेशको नागरिकता लिए फरक कुरा, तर दुर्गा प्रसाईं कानुनी कारवाहीबाट उम्किन सक्ने ठाउँमा नरहेको प्रहरीको दाबी छ । सोमबार संसदमा प्रधानमन्त्री स्वयंले शुक्रबारको घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहमाथि नै छानविन हुने बताइसकेकाले हिंसा र लुटपाटको कमाण्डर बनेका प्रसाईं जति लुक्ने प्रयास गरे पनि सजिलो नहुने दाबी प्रहरीको छ ।

त्यसो त गृह मन्त्रालय स्वयं पनि शुक्रबारको घटनाबाट पन्छिन मिल्दैन । किनकि सुरक्षा निकायले पहिले नै राजावादीहरुका लागि तिनुकुने क्षेत्र दिन नहुने रिपोर्ट गरेका थिए । तर, मन्त्रालयले राप्रपासमेत मिसिएकाले धेरै निषेध गर्दा पनि राम्रो नहुने भन्दै तिनुकुने क्षेत्र दिन स्वीकृति दिएको थियो । प्रसाईंले निम्त्याउन सक्ने जोखिमका बारे पनि सुरक्षा निकाय जानकार नै थियो । तर, लुटपाट र निजी घरमा आगजनीसम्मै उत्रिने आँकलन गर्न नसक्नु चुक भएको गृह मन्त्रालयको विष्लेषण छ ।


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।