काठमाडौं । वामपन्थी नेता, लेखक एवं कूटनीतिज्ञ कमल कोइरालाको ८७ वर्षको उमेरमा निधन भएको छ । नेपालमा प्रजातान्त्रिक आन्दोलनका नेतृत्वकर्ता विराटनगरको कोइराला परिवारमा जन्मिएका कमल, मातृकाप्रसाद कोइरालाका छोरा तथा बीपी र गिरिजाप्रसादका भतिज हुनुहुन्छ । वरिष्ठ वामपन्थी राजनीतिज्ञ कमल कोइरालाको आजै पशुपतिमा अन्त्येष्टी गरिएको छ ।
१९९५ सालमा विराटनगरमा जन्मनुभएका कमल कोइराला प्रखर लेखक, कूटनीतिज्ञ तथा राजनीतिज्ञका रूपमा परिचित हुनुहुन्थ्यो । उहाँले नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण योगदान दिनुभएको छ । कांग्रेसको छत्रछायाँमा हुर्केर पनि उहाँलाई वामपन्थी विचारले डोर्याएको थियो । कतिसम्म भने २००८ सालमा बुबा मातृकाप्रसाद कोइराला प्रधानमन्त्री भएकै बेला कम्युनिस्टको विद्यार्थी नेताका रूपमा जुलुस निकाल्दा उहाँ हिरासतमा बस्नुपर्यो ।
कमल कोइरालाले २०४७ सालपछि एमालेनिकटको रूपमा परिचित दृष्टि साप्ताहिकको प्रधानसम्पादकको जिम्मेवारी सम्हाल्नुभएको थियो । त्यस्तै, २०६१ सालपछि रोडम्याप साप्ताहिकको प्रधानसम्पादक हुनुभएका उहाँ पछिल्लो समय साँघु साप्ताहिक र जनआस्थासहितका पत्रिकामा स्तम्भकारका रूपमा सक्रिय लेखनमा हुनुहुन्थ्यो । उहाँ वरिष्ठ अधिवक्ता समेत हुनुहुन्थ्यो ।
केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनविरुद्ध समेत उहाँले बहस गर्नुभएको थियो । २०५१ सालको मध्यावधि निर्वाचनमा मोरङ जिल्लाबाट निर्वाचित हुनुभएको कोइराला तीन वर्ष दक्षिण कोरियाका लागि नेपाली राजदूत हुनुभएको थियो । उहाँले राजदूत हुँदा वुद्ध नेपालमा जन्मेको भनेर दक्षिण कोरियाका पाठ्यक्रममा राख्न लगाउनुभएको थियो । त्यति मात्र नभएर उहाँ एमालेका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वसल्लाहकार समेत हुनुहुन्थ्यो । पार्टी विभाजनपछि भने उहाँ नेकपा एकीकृत समाजवादीमा आबद्ध हुनुभयो ।
त्याग र निष्ठाको राजनीति गर्ने कमल कोइरालाको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीसहित विभिन्न राजनीतिक दलका नेताहरूले श्रद्धाञ्जली अर्पण गर्नुभयो ।