इटहरी गोल्डकपको उपाधि मच्छिन्द्रलाई

फाल्गुन १०, २०८१ |खेल ब्युरो
इटहरी गोल्डकपको उपाधि मच्छिन्द्रलाई

काठमाडौं । मच्छिन्द्र फुटबल क्लब १५ औं संस्करणको इटहरी गोल्डकप फुटबल प्रतियोगिताको विजेता बनेको छ । शनिबार भएको फाइनल खेलमा सगरमाथा युथ क्लब मोरङलाई २-० ले पराजित गर्दै मछिन्द्रले पहिलो सहभागितामै उपाधि जितेको हो ।

यो जितसँगै मछिन्द्रले सिजनको पहिलो उपाधि जितेको छ । पाँचथरमा भएको फाल्गुनन्द गोल्डकपमा उपविजेतामै सीमित भएको मच्छिन्द्रले इटहरी गोल्डकप च्याम्पियन बनेसँगै नगद १० लाख प्राप्त गरेको छ । पराजित सगरमाथा युथ क्लबले उपविजेता बन्दै ५ लाख हात पार्‍यो । मछिन्द्रलाई विजयी बनाउन मलिक युसुफ र ओमोलाजा नुरेन करिमले गोल गरेका थिए । 

खेलको चौथो मिनेटमा युसुफले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० को अग्रता लिएको मच्छिन्द्रका करिमले खेलको ८५ औं मिनेटमा दोस्रो गोल गर्दै जित सुनिश्चित गरे । स्थानीय दर्शकको साथ पाए पनि पनि २ पटकको विजेता सगरमाथाले भने अपेक्षाकृत प्रर्दशन गर्न नसक्दा उपविजेतामै चित्त बुझाउनुपरेको छ । 

पराजयका बाबजुद ‘म्यान अफ द म्याच’ सगरमाथा युथ क्लबका कप्तान अशोक खवास घोषित भए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सगरमाथा युथ क्लबका कुलदीप कार्की बने । उनले नगद १ लाख प्राप्त गरे । व्यक्तिगत विधातर्फ मच्छिन्द्रकै वर्चश्व रह्यो । मछिन्द्रका विशाल श्रेष्ठ उत्कृष्ठ गोलरक्षक, सनिस श्रेष्ठ उत्कृष्ट डिफेन्डर, विशाल घलान उत्कृष्ट मिडफिल्डर घोषित भए । 

यस्तै युसुफ उत्कृष्ट फरवार्ड बन्दा सन्तोष न्यौपाने उत्कृष्ट प्रशिक्षक चुनिए । प्रतियोगिता अवधिभर चार गोल गरेका युसुफ सर्वाधिक गोलकर्ता बन्दै नगद २५ हजार पुरस्कार प्राप्त गरे । उदीयमान खेलाडी आयोजक राष्ट्रिय जागृति क्लबका सविन घिमिरे घोषित भए ।



Enter Kantipur TV HD
Advertisement